एक समय एक्सन फिल्ममा रुचाइएका अभिनेता हुन्, रेश मरहठ्ठा । दर्जन बढी फिल्ममा अभिनय गरेका यी चकलेटी हिरो लामो समयदेखि काँचको पर्दाबाट टाढा छन् । उनको पछिल्लो रिलिज फिल्म ‘मिशन पैसा २’ हो । यसपछि उनले कुनै नेपाली फिल्ममा अभिनय गरेका छैनन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको कमब्याक कहिले होला ? दर्शक प्रतिक्षारत छन् । फिल्म ‘चाहान्छु म तिमीलाई नै’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनलाई फिल्म ‘पिंजडा’ ले दर्शकको ठूलो वर्गमा चिनाएको थियो ।
‘भागी भागी नजाउ’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘मेरो जीवन साथी’, ‘काठमाण्डू’, ‘सीमाना’ लगायतका फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका उनले म्यूजिक भिडियोमा पनि काम गरेका छन् । गएको केही महिनायता उनी नेपालमा छन् ।
अभिनेता रेशले आफ्नो व्यापार व्यवसायका कारण पनि फिल्म अभिनयमा समय दिन नसकेको बताएका छन् । फिल्मीखबरसँगको फोनवार्तामा उनले भने- ‘म कहिले पनि धेरै फिल्म खेल्नुपर्छ भन्ने सोचाइबाट परिचालित भइनँ । ‘मिसन पैसा २’ पछि मैले नेपाली फिल्ममा काम गरेको छैन ।
फिल्म अफर नभएर होइन । म हराएको पनि छैन । अब आउँदा राम्रो कन्सेप्टका साथ आउनेछु ।’ अहिले एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा आफू काम गरिरहेको उनको भनाई छ । तर, कोरोनाको महामारीले उक्त प्रोजेक्ट रोकिएको उनी बताउँछन् । ‘ढिलोचाँडो होला तर यति वर्षपछि आउँदा पनि नेपाली फिल्म क्षेत्रको इज्जत राख्ने फिल्म लिएर आयो भनेर दर्शकले गर्व गर्नुहुनेछ । यदी त्यसो हुन सकेन भने फिल्म नै रिलिज गर्दिनँ ।
बरु, घाटा नै किन नहोस्,’ अभिनेता रेश सुनिए । रेश मरहठ्ठालाई दर्शकमाझ चिनाएको फिल्म ‘पिंजडा’ को दोस्रो श्रृंखला गएको दुई वर्ष अगाडि निर्माण र प्रदर्शन भएको थियो । तर, यसमा उनी अटेनन् । हुनत, फिल्म पनि बक्सअफिसमा चलेन । यद्यपि, ‘पिंजडा ब्याक अगेन’ निर्माण हुँदै गर्दा दर्शकले रेश हुनुपर्ने माग गरेका थिए । कतिपयले फिल्म असफल हुनुलाई कमजोर कथावस्तुसँगै रेशको अनुपस्थितिलाई पनि मानेका छन् ।
यस विषयमा रेश भन्छन्, ‘फिल्म ‘पिंजडा’ को दोस्रो भाग बन्ने भएपछि मलाई धेरै दर्शकले तपाईं फिल्ममा हुनुहुन्छ कि हुनुहुन्न भनेर सोध्नुभएको थियो । त्यसबेला म अमेरिकामा थिएँ । म आफैंले पनि फिल्म गर्न चासो देखाइनँ । सायद उहाँहरुले पनि मलाई खोज्नुभएन ।’ उनले आफ्नो डेब्यू फिल्म ‘चाहान्छु म तिमीलाई नै’ को सिक्वेलको बारेमा पनि कुराकानी भइरहेको बताएका छन् ।