काठमाडौं : विगत एकदशक बढी लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरकपन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरूमा कलम चलाउन सिपालु छन् ।
फरक प्रेम कथावस्तुलाई आफ्ना गीतहरुमा कलात्मक शैलीमा उनले उतार्ने गर्छन् । यसैबीच, फरक प्रेमकथामा आधारित उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ। केहीदिन अघि रिलिज “गल्ती” बोलको गीतमा लोकप्रिय गायक बिक्रम परियार र लोकप्रिय गायिका सुनिता बुढाको सुमधुर आवाज रहेको छ।
गीतमा अर्का लोकप्रिय सर्जक तथा गायक खेम सेन्चुरीको संगीत रहेको छ। गीतमा सर्जक कँडेलकै शब्द रहेको छ। संख्यात्मक भन्दापनि गुणात्मक सृजनामा विशेष प्राथमिकता दिने सर्जक कंडेलले यस गीतमा पनि फरकपन दिने प्रयास गरेका छन् ।
प्रेम गर्नु गल्ती हो भने, निरन्तर प्रेम गरेर गल्ती गरिरहने कुरालाई सर्जक कँडेलले उत्कृष्ट तरिकाले गीतमा उतारेका छन् । गीत सार्वजनिक भएको छोटो समयमै धेरैले रुचाएका छन् पनि । युट्युब, टिकटकदेखि फेसबुकसम्म गीतलाई धेरैको तारिफ मिलेको छ।
प्रेमिल प्रेम सम्बन्धमा रहेको एक प्रेम जोडीको, प्रेम वियोगपछिको कारुणिक कहानीलाई उत्कृष्ट शैलीमा सर्जक कंडेलले गीतमा उतारेका छन् । गीतमा समावेश शब्दहरु मर्मस्पर्शी छन्। गीतको संगीत पनि त्यतिकै मन छुने छ। बिक्रम र सुनिताको गायिकी त झन गीतमा उत्कृष्ट छ।
गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन छुने गर्छन् । यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छ ।
गीतको अडियो जति मन छुने छ, भिडियो झन कारुणिक बनेको छ। भिडियोमा एउटा बिल्कुलै फरक कथालाई उठान गरिएको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा कलाकार बिनोद भण्डारी र अर्चना काउचा मगर फिचर्फ छन् ।
“एउटा प्रेमिल सम्बन्धमा रहेका प्रेमीप्रेमिका अर्थात् युवायुवती, जो परिस्थितिले एक हुन सक्दैनन् । परिस्थितिकै कारण प्रेमिकाको अर्कै केटासंग विवाह हुन्छ। विवाहित घरमा युवतीलाई मानसिक यातना दिइएपछि पीडा सहन नसकेपछि माइती आउँछिन। यता, पराई भएकी प्रेमीकालाई अझैसम्म उत्तिकै माया गर्छन् प्रेमीले। प्रेमिकाले पाएका हरेक दुखमा साथ दिन्छन् प्रेमिले। अनि अरुको भइसकेपछि भेटभएका प्रेमिप्रेमिमाले एकआपसमा आफ्ना दुख वेदना सुनाउँछन् । अन्ततः उनीहरू घर छोडेर एक हुनको लागि भाग्छन। साँचो माया कहिल्यै नमर्ने उदाहरण व्यक्त गर्छन्। ” यही कहाँनीलाई भिडियोमा बडो उत्कृष्ट शैलीमा देखाइएको छ।
भिडियोमा बिनोद र अर्चनाको केमिस्ट्री उत्कृष्ट छ। उनीहरुले जीवन्त अभिनय गरेको आभास भिडियो हेर्ने जोकोहीलाई हुनेगर्छ । भिडियोको कथावस्तुलाई अब्बल तरिकाले बिनोद र अर्चनाले आफ्नो अभिनयमा उतारेका छन् ।
भिडियोका निर्देशक विनोद भण्डारी हुन् । भिडियोको परिकल्पना पनि विनोदकै हो। नवराज उप्रेतीले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियो सर्जक नारायण कँडेलको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।
‘यस्तै छ कहानी’, हरेक दिन नेपाली परदेशमा ‘रुन्छ’,’सलामी’, ‘आफ्नोपन’, ‘उतै जान पर्छ’ लगायत दर्जनौं लोकप्रिय गीतहरु समेत सृजना गरेका सर्जक कंडेलले यो गीत पनि दर्शक स्रोताले रुचाउनेमा आशावादी रहेको जनाएका छन् । हेर्नुस् भिडियो..