काठमाडौं : विगत लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तथा संगीतकार हुन् खेम पुन। विशेषगरी लोकगीत संगीतप्रति अत्याधिक झुकाव राख्ने खेम यतिबेला अमेरिकामा छन् ।
त्यसो त, अमेरिका भए पनि गीत संगीतमा सक्रिय भइराख्छन् उनी। गाउनमा औधी रुचि राख्ने खेमले संगीत सृजना पनि उत्तिकै अब्बल गर्छन् । उनको आवाज र संगीत सृजना रहेका दर्जनौं गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय छन् ।
यसैबीच, उनले संगीत सृजना गरेको पछिल्लो गीत यतिबेला बजारमा छ। केही दिन अघि रिलिज भएको “आइपुग्यो बाग्लुङ बजार” बोलको पञ्चेबाजा गीतमा खेमको मौलिक संगीत रहेको छ। गीतको शब्द अब्बल सर्जक नवराज पन्तले लेखेका हुन् ।भने, लोकप्रिय गायक वसन्त थापा र जुना श्रीष मगरको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ।
गीतका शब्द निकै मनछुने छन् । त्यसै अनुरुप खेमले पन उत्कृष्ट संगीत दिएका छन् । प्रायः बाग्लुङ तिर प्रचलित मौलिक पन्चेबाजाको झल्को मेट्छ यस् गीतले। वसन्त र जुनाको गायिकी पनि गीतमा मिठासयुक्त सुनिएको छ।
अन्य गीतको संगीत भन्दा पन्चेबाजा गीतको संगीत गर्दा छुट्टै किसिमको, बेग्लै मज्जा आउने खेम बताउँछन् । फिल्मीपत्रकर्मी संगको छोटो कुराकानीमा उनले भने, “प्राय मेरो पाटो गायन हो। तर विगतका केही वर्षयता अमेरिकाको बसाई भएकोले गायनका सक्रिय हुन पाइएको छैन। गायनमा सक्रिय हुन नसकेपनि संगीत सृजना भने बेलाबेला गरिरहेको छु। मैले संगीत गरेका धेरै गीत बजारमा छन् । त्यसै मध्ये यो पन्चेबाजा गीत पनि पर्छ। मलाई मौलिक पन्चेबाजा गीतमा संगीत सृजना गर्दै बेग्लै मज्जा आउँछ। सायद आफू बागलुङमै जन्मिएर होला पन्चेबाजा गीतले तन मन निकै तान्ने गर्छ।”
यस् पन्चेबाजा गीतको अडियोले जति मनछुन्छ, भिडियोले झन् भावुक बनाउँछ। भिडियोमा बाग्लुङका आकर्षक दृश्य देखाइएको छ। उसो त, यसै गीतका गीतकार नवराज पन्तको वास्तविक विवाहमा भिडियो खिचिएको छ। नवराजको घर बाग्लुङमै गएर भिडियो निर्माण गरिएको हो।
भिडियोमा नवराजको वास्तविक विवाहको दृश्यसंगै कलाकार बिनोद भन्डारी र जुना गुरुङको पनि कारुणिक अभिनय देख्न सकिन्छ। प्रेम विछोडपछि पिडासहित भेटिएका प्रेमिप्रेमिकाको कारुणिक कहानीलाई भिडियोमा देखाइएको छ।
भिडियोलाई आकर्षक फ्रेममा करण चैसिरले खिचेका हुन् । त्यस्तै, मनोज कार्कीले भिडियो सम्पादन एवम् कलर गरेका छन् । गीत नवराज पन्तको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको हो। भिडियो..