
नेपालगन्ज : शनिबार नेपालगन्ज शहर अन्य दिनभन्दा बेग्लै थियो। अन्य दिनभन्दा नितान्त फरक दृश्य नेपालगन्ज शहरमा देख्न सकिन्थ्यो। कारण हो, नेपालगन्ज म्याराथनको ७ औं संस्करणको रौनक।
यसपटकको संस्करणमा अलि बेग्लै किसिमको रौनक थियो। किनकी चर्चित खेलाडीहरुको उपस्थिति संगै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको पनि उपस्थिति हुने खबर केही दिन अघिनै सार्वजनिक भएको थियो।
त्यसै अनुरुप, नेपालगन्जको बिपी चोक बिहानै ७ बजेदेखि नै भरिभराउ देखिन्थ्यो। कोही म्याराथनमा सहभागी हुन आएका थिए, कोही म्याराथन हेर्न आएका थिए त, कोही महानायक राजेश हमाललाई हेर्न पनि आएका थिए।
म्याराथनमा राजेश हमाल कसरी दौडिएलान, या त दौडिन्छन कि नाइ, केही डाइलग भन्लान् कि न भन्लान् ? यस्तै यस्तै कौतुहलताले सताएको थियो महानायकलाई हेर्न गएकाहरुलाई।
बिहानैदेखि चिसो भएपनि सयौं खेलाडीहरु, दर्शकहरू लगायतका व्यक्तिहरुले भरिभराउ भिडको छेउमा अन्दाजी ७० वर्ष माथिकि बुढी आमा पनि स्टेजको छेवैमा बर्को ओढेर बसेकी थिइन् । त्यसो त, उनको उमेरले बिहानीको जाडो थेग्न सक्थेन तर पनि बिहानी जाडोको प्रवाह नगरि यताउता आँखा लगाइरहन्थिन।
ति बुढी आमालाई न त, म्याराथनको बारेमा थाहा थियो, न त अरु केही हुन्छ भन्ने कुरा नै। बुझिए अनुसार उनलाई त थाहा रहेछ कि उक्त भिडमा महानायक राजेश हमाल आउँछन् भन्ने कुरा। आफ्नौ उमेरकी अर्की एकजना साथीलाई लिएर उनी महानायक हेर्नलाई बिहानै नेपालगन्जको बिपी चोक पुगेकी रहिछन् ।
नजिकै गएर फिल्मीपत्रकर्मीले बुढी आमालाई यस्तो जाडोमा महानायकलाई कुरेर बस्नुको कारण सोधे। बुढी आमाले भनिन् , “सधै टिभीमा देखिने राजेश हमाल आउँछन् भन्ने सुनेर आयौं हामी त। ७० वर्ष काटिसकियो, अब मर्नुभन्दा अघि आफ्नै आँखा अघि राजेश हमाललाई देख्न पाइन्छ कि भनेर आएकी । साँच्चिकै कति खेर आउँछन् राजेश हमाल ?”
राजेश हमाललाई भेट्न औधी रुचि राखेकी आमासंग फिल्मीपत्रकर्मीले कुरा गरि नसक्दै महानायक स्टेजमै आइपुगे। टिन बुढी आमाको मुहार हर्षित बन्यो।
अन्ततः महानायकतर्फ सबैको नजर मोडियो।म्याराथनका खेलहरु सुरु भए। महानायकले पनि धर्मपत्नी मधु भट्टराई संगै विशिष्ट व्यक्तिहरुसंग दौडमा सहभागी भए। नेपालगन्जको बिपी चोक हुँदै धम्बोझी चोक पुगि फर्केर बिपी चोकको स्टेजमा फर्किए महानायक। महानायकको दौड पूरा गरेर फर्केपछि स्टेज वरपर तालि र हुटिङको ओइरो लाग्न थाल्यो।
यतिहुँदा सम्म बुढी आमा स्टेज नजिकै भिडमा च्याप्पिएर बसिरहेकी थिइन् राजेश हमाललाई नजिकैबाट हेर्न आशामा। अन्ततः आयोजक टिमले बुढी आमाको इच्छा बुझ्यो र महानायक संग भेट्ने माहोल जुराइदियो। महानायकले जब ति आमालाई हेर्दै नमस्ते आमा भनेर हात जोडे, तब ति आमा भावुक भइन।
हमालको सन्चै हुनुहुन्छ आमा ? भन्ने प्रश्नमा ति आमाले भनिन् , “सन्चै छु बा । कस्तो खुशीले मन भारी भो। नजिकै बाट देख्न पाइयो। धन्यवाद बाबू।”
पहिलोपटक नजिकैबाट महानायकलाई भेटेपछि उनीसंगै आएकी अर्की बुढी आमा पनि निकै खुशी अनि भावुक बनेकी थिइन् ।
त्यसो त, महानायकले पनि बुढी आमा आफुलाई हेर्न बिहानको चिसो छिचोल्दै आएको कुराले खुशी भएको बताए। बुढी आमासंगै हमालसंग सेल्फि खिच्न चाहनेको संख्या बाक्लै थियो। म्याराथनमा सहभागी खेलाडीहरुले त टिसर्ट पछाडि अटोग्राफ समेत दिन लगाएका थिए।
अन्य समय भन्दा म्याराथन विशेषमा नेपालगन्ज आउन पाउँदा आफू निकै खुशी रहेको र नेपालगन्ज शहर खेलकुदको शहर रहेको महानायकको भनाइ थियो।