काठमाडौं : त्यसो त, पछिल्लो समय कुनै ज्ञान, प्रशिक्षण एवम् शिक्षा नलिएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या बढ्दो छ। जसका कारण धेरैले अनेकन दुख भोगेको पाइन्छ।
तर बुझेर, औपचारिक प्रशिक्षण लिएर कलाकारितामा लाग्नेहरु पनि छन् । जो बुझेर, सिकेर कलाकारिताले लागे उनीहरूले ढिलै भएपनि राम्रो गरेको उदाहरण धेरै छन् । यस्तै, कलाकारिता क्षेत्रलाई राम्रोसँग बुझेर कलाकारितामा होमिएका मोडल हुन् अविरल अधिकारी।
पोखराका अविरल हाल एउटा राम्रो कलाकारको पहिचान बनाउनको लागि संघर्षरत छन् । त्यसो त, कलाकारिता क्षेत्रमा लागेको धेरै समय भएको छैन अविरलको। करिब ३ वर्ष अघिदेखि कलाकारिता यात्रा सुरु गरेका हुन् अविरलले। तर छोटो समयमै उनले आफ्नो कला निखारिसकेका छन् ।
उनले “भोटे कुकुर”, “टेलिफोनले”, “मैसाव” लगायतका आधा दर्जन बढी गीतको भिडियोमा मोडलिङ गरिसकेका छन् । पढाइसंगै कलाकारितालाई अगाडि बढाइरहेका अविरलले कलाकारिता आफ्नो रुचि भएकोले अझै राम्रो गर्नतिर लाग्ने बताउँछन् ।
आफ्नो कलाको क्षमता सबैको सामु देखाउन पाउँदा निकै सन्तुष्टि मिल्ने बताउँछन् अविरल। कलालाई हृदयदेखि माय गर्ने र मिहिनेत गर्ने भएर होला अविरलले हालसालै मात्र उत्कृष्ट मोडलको अवार्ड समेत हात पार्न सफल भए।
केही हप्ता अघि सम्पन्न “नेशनल गण्डकी म्युजिक अवार्ड २०७८” अन्तर्गत वर्षकै उत्कृष्ट मोडलको अवार्ड अविरलले हात पारेका हुन् । अविरल अभिनित “मैसाव” बोलको म्युजिक भिडियोबाट उक्त अवार्ड उनले उचालेका हुन् ।
जुन म्युजिक भिडियो गत तिजमा रिलिज भएको थियो। यसरी आफ्नो कर्मले विशेष मुल्यांकन पाउँदा निकै हर्षित छन् अविरल । अवार्ड प्राप्त गरेपछि झन कलाकारितामा लाग्न आफू प्रेरित भएको अविरल सुनाउँछन् ।
कर्म गर्दा गयो भने सफलता मिल्दै जाने कुरामा आफू विश्वस्त रहेको बताउँदै आगामी दिनमा झन कलाकारितामा राम्रो गर्ने उनले अठोट लिएका छन् ।
पढाइलाई र कलाकारितालाई संगै अघि बढाएर अझै राम्रा राम्रा म्युजिक भिडियो दर्शकमाझ ल्याउने अविरलको योजना रहेको छ। साथै, अब छिट्टै आफू अभिनित नयाँ म्युजिक भिडियो बजारमा ल्याउन लागेको उनले बताए।