
काठमाडौं : त्यसो त करिब २ वर्षदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकको प्यास यतिबेला बलिउड चलचित्र “सूर्यवंशी”ले मेटिरहेको छ। गत शुक्रबारदेखि भारत लगायत नेपालका अधिकांश हलहरुमा प्रदर्शनमा आएको “सूर्यवंशी”ले हलमा दर्शकको ओइरो लगाउन सफल भएको छ।
रोहित सेट्टी निर्देशित उक्त चलचित्रले कमाइ पनि राम्रो गर्न सफल भएको छ। भारतीय मिडियाका अनुसार चलचित्रले रिलिज भएको चौथो दिनसम्म आइपुग्दा करिब १०० करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ।
चलचित्रले पहिलो दिन २६.२९ करोड, दोस्रो दिन २३.८५, तेस्रो दिन २६.९४ र चौथो दिन मंगलबार १३.६८ करोड व्यापार गरेको बताइएको छ।
एक्सन थ्रीलर कथामा आधारित चलचित्रमा सुपरस्टार अक्षयकुमार, अभिनेत्री कटरिना कैफ लगायतका चर्चित कलाकारहरुको प्रमुख भुमिका रहेको छ। चलचित्रले भारतमा मात्रै नभएर नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।
हाल नेपालमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । जसको फाइदा सुर्यवंशीलाई मिलेको छ। सूर्यवंशीले नेपालका करिब १ सय बढी मल्टिप्लेक्समा सोलो रिलिज पाएको छ।