काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै यत्रतत्र सर्वत्र लोकप्रिय बन्न सफल भएको गीत हो “चौका दाउ” बोलको गीत।
यथार्थपरक सृजना गर्न सक्ने खुबी भएका सर्जक विजय चन्द ‘दर्पण’को शब्द रहेको गीतमा लोकप्रिय गायिका शान्ती श्री परियार र बाबु कृष्ण परियारको सुमधुर आवाज रहेको छ। गीतको संगीत बाबू कृष्णले तयार पारेका हुन् । समग्रमा उत्कृष्ट अडियो तथा भिडियो सहित गीत करिब ७ महिना अघि रिलिज गरिएको थियो।
रिलिज भएको छोटो समयमै बालकदेखि वृद्धसम्मका दर्शक स्रोताले गीतलाई अत्याधिक रुचाए। अधिकांश दर्शक स्रोताको जनजिब्रोमा झुन्डियो गीत। जुन अहिलेसम्म पनि गीतको क्रेज त्यतिकै छ।
सर्जक विजय चन्द दर्पणको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको उक्त गीतलाई ७ महिनामै ३ करोड बढी पटक हेरिएको छ। त्यस्तै, १ लाख बढी लाइक, १८ हजार डिसलाइक र ७ हजार बढी कमेन्ट प्राप्त गर्दै गीत ३ करोड क्लबमा प्रवेश गर्न सफल भएको छ।
युट्युबमा अधिकांस दर्शकको सकारात्मक प्रतिक्रिया गीतलाई मिलेको छ। गीतको अडियोसंगै भिडियोको पनि उत्तिकै चर्चा गरेको भेट्न सकिन्छ युट्युबको कमेन्ट बक्समा।
त्यसो त, अडियो जति सशक्त छ, भिडियो पनि उत्तिकै आकर्षक अनि उत्कृष्ट बनेको कारणले होला दर्शकले अडियोसंगै भिडियोको पनि तारिफ गरेका छन् ।
अब्बल अनि लोकप्रिय निर्देशक एवम् डान्सर सुनिल क्षेत्री र अर्की लोकप्रिय मोडल गीत ढुंगानाको नृत्य र अभिनय भिडियोमा अत्याधिक रुचाइएको छ। भिडियोको निर्देशन पाटो पनि तारिफ योग्य छ। भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।
दिपक गिरीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
यसरी छोटो समयमै गीतलाई चौतर्फी रुचाइँदा र युट्युबमा ३ करोड बढी भ्युज जाँदा निर्माण टिम निकै हर्षित छ यतिबेला । निर्माण टिमले फिल्मीपत्रलाई जानकारी दिए अनुसार “चौका दाउ”को उत्कृष्ट सफलतापछि सोही टिम अर्को नयाँ गीतको निर्माणमा जुटेको छ। नयाँ गीतको बोल चाहिँ “राजारानी” रहेको बताइएको छ।
“अबको केही दिनबाटै हाम्रो टिमले नयाँ गीतको भिडियो छायांकन सुरु गर्दैछ।”, गीतका सर्जक विजय चन्द दर्पणले फिल्मीपत्रसंग भने, “अडियोको काम पुर्ण रुपमा सकियो। अब हामी भिडियो निर्माणमा जुटेका छौँ । जसरी चौका दाउले छोटो समयमै नसोचेको सफलता पायो, त्यही सफलतालाई आत्मसात गर्दै नयाँ गीतको निर्माणमा जुट्न हौसला मिलेको हो। अडियोदेखि भिडियोमा सोही चौका दाउकै टिम जोडिएका छौं । नयाँ गीत राजारानीलाई अलि पृथक बनाउने हाम्रो कोसिस छ।”
विजयले अगाडि थप्दै भने, “नयाँ गीतको अडियोदेखि भिडियोसम्म कुनै कुराको कमी हाम्रो टिमले गर्नेछैन। यो पटक हामीले भिडियोमा भेरिएसन दिने कोशिश गरेका छौँ । नेपालका प्रमुख शहरमा छायांकन गर्ने योजना बनाएका छौँ । सुदुर पश्चिमदेखि पुर्व सम्मका प्रमुख शहरहरुलाई भिडियोमा उतार्ने हाम्रो जमर्को छ। त्यसको लागि हाम्रो निर्देशक सुनिल क्षेत्री जिलाई हामीले जिम्मा दिएका छौँ । चौका दाउलाई यति धेरै माया गरिदिने दर्शक स्रोता प्रति आभारी छु। आशा छ हाम्रो टिमको नयाँ गीतलाई पनि उत्तिकै माया दिनुहुनेछ। सायद तिहार सकिएलगत्तै हाम्रो नयाँ गीत रिलिज हुनेछ।”
जुन हिसाबले चौका दाउले लोकदोहोरीको क्षेत्रमा इतिहास रच्यो, अब आउने नयाँ गीतले इतिहास रच्न सक्छ कि सक्दैन त्यो त रिलिज पछि नै थाहा होला।
जे होस, दर्शक स्रोता भने नयाँ गीतको पर्खाइमा छन् । त्यसो त, नयाँ गीतबाट धेरै महत्वकांक्षा भन्दा पनि आफ्नो तर्फबाट सतप्रतिशत मिहेनत गर्ने र दर्शक स्रोताको माया पाउने आशा रहेको निर्माण टिमले जनाएको छ।