काठमाडौं : बसाई हाल अमेरिका। तरपनि मन-मस्तिष्क भने नेपाली गीत संगीततिरै भएका सर्जक एवम् गायक हुन् खेम पुन । बाग्लुङ जस्तो सुन्दर एवम् मनोरम माटोमा जन्मिएका खेमले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका छन् ।
विशेषगरी मौलिक गायक एवम् सर्जक भनेर नेपाली लोकदोहोरी क्षेत्रमा चिनिने खेम पुनले दशकौं बढी समय गीत संगीतमा खर्चिसकेका छन् । गायनसंगै संगीत सृजना समेत गर्न सक्ने खुबी भएका खेमका दजनौं बढी गीत सांगीतिक बजारमा छन् । जसमध्ये अधिकांश गीत लोकप्रिय छन् ।
‘ए परदेशी’, ‘बाग्लुङ बजार’, ‘बाग्लुङमा घुम्टे’, ‘फिक्का चिया’, ‘जाली रैछौ’ लगायतका दर्जनौ गीत खेम पुनका लोकप्रिय गीतमा पर्ने गर्छन् । आफ्ना हरेक गीतमा मौलिकपन समेट्ने खेम पछिल्लो समय गायन भन्दा संगीत सृजनामा सक्रिय हुन थालेका छन् ।
विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका खेमले पछिल्लो समय अमेरिकामै बसेर गीत संगीतलाई निरन्तरता दिइरहेका छन् । कामको व्यस्तताका बाबजुद पनि गीत संगीत प्रतिको मोहलाई खेमले उजागर गर्दै आइरहेका छन् ।
यसैक्रममा उनले संगीत सृजना गरेको पछिल्लो गीत यतिबेला बजारमा छन् । मौलिक संगीतले भरिएको “जवानीको औषधि” बोलको गीत केही हप्ता अघि रिलिज भएको हो। जुन गीतमा मौलिकपनको आभाष गर्न सकिन्छ।
गीतकार केशव पौडेलको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायिका देवी घर्ती र गायक वसन्त थापाको सुमधुर आवाज रहेको छ। लोकप्रिय गीत “उही खोलीमा पानी”को सिक्वेलको रुपमा बजारमा ल्याइएको यस् गीतमा खेमले बिलकुलै पृथक अनि मौलिक संगीत दिएका छन् ।
गीतको अडियो सुन्दा निकै मेलोडियस लाग्ने गर्छ। सुन्ने जोकोहीको मन गीतको अडियोले जित्छ। देवी र वसन्तको गायिकी गीतमा उत्कृष्ट सुनिएको छ। शब्दसंगै संगीत पनि पृथक भएर होला गीतलाई टिकटक तिर पनि निकै रुचाइएको छ। फलस्वरूप यस् गीतको विभिन्न अंशमा हजारौं टिकटक भिडियो समेत बनेका छन् ।
गीतको अडियो पक्षमा खेमको संगीतले तारिफ पाएको छ। जुनकुरा युट्युवको कमेन्ट बक्समा देख्न सकिन्छ। त्यसो त, खेमले निकै लामो समयपछि मौलिक संगीत दिएको गीत हो ‘जवानीको औषधि’ बोलको गीत । यसै गीत मार्फत लामो समयको अन्तरालपछि खेम मौलिक संगीत सृजनामा कमव्याक भएका छन् ।
यस् गीतलाई हालका दिनसम्म युट्युवमा ४ लाख बढी पटक हेरिएको छ।भने, दर्शकको अधिकांश प्रतिक्रिया सकारात्मक छ। गीतको अडियोसंगै भिडियोलाई पनि रुचाइएको छ। चित्र मास्किको निर्देशन, विवेक बिकको छायांकन, पदम सुवेदीको सम्पादन एवम् मिलन विश्वकर्माको रंग संयोजन रहेको भिडियोमा रविना भण्डारी र लोमश शर्मा फिचर्ड छन् ।
त्यसो त, खेम संख्यात्मक भन्दा पनि गुणात्मक गीत संगीत गर्न रुचाउँछन् । प्राय उनका गीतको संख्या थोरै भएतापनि चर्चाको हिसाबले लोकप्रिय छन् ।