काठमाडौं : बसाई जापान, तर पनि मन भने सधै नेपाल अनि नेपाली गीत संगीत तिर लगाइराख्ने व्यक्ति हुन् प्रेम सापकोटा सोनु। त्यसो त, प्रेम एक स्थापित सर्जक एवम् गायक हुन् । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान छ उनको। विशेषगरी नेपाली लोकदोहोरी क्षेत्रमा सुमधुर आवाज भएका गायकभित्र पर्छन् प्रेम।
रोजगारको लागि प्रेमको बसाइ हाल जापानमा छ। त्यही पनि उनी गीत संगीतका धुनहरु मार्फत देश विदेशमा पुगेका हुन्छन् । अर्थात् उनले गाएका गीतहरू देशक विदेशमा रहेका नेपाली दर्शक स्रोताले रुचाँदै आएका छन् ।
प्रेमले विगत १ दशकदेखि जापानमै बसेर गीत संगीतलाई निरन्तरता दिइरहेका छन् । उनले गाएका अधिकांश गीत दर्शक स्रोताले अतिनै रुचाएका छन् । यसैबीच, उनले पछिल्लो केही वर्षयता तीज विशेष गीत पनि निरन्तर बजारमा ल्याइरहेका छन् ।
यस् वर्ष मात्रै प्रेमका चार वटा तीज गीत बजारमा आए। कुनैमा संगीत भरिदिए, कुनैमा गाए त कुनैमा शब्द लेखिदिए। यसरी प्रेमले यो वर्षको तीज गीतका लागि विभिन्न गायक गायिका एवम् व्यक्तिसंग जोडिए। घरवारी, स्यानी, मान्छे मन परेको र रेलको चाँबी गरि यस् वर्ष चार वटा तीज गीत प्रेमका बजारमा आए।
१. गीत : घरवारी
त्यसो त प्रेमले हरेक गीतमा मौलिकपन समावेश गर्छन् । सोही अनुरुप यो गीत पनि मौलिक छ। गीतमा प्रेमकै शब्द, संगीत अनि सुमधुर आवाज सुन्न सकिन्छ। प्रेमलाई गायनमा गायिका शान्ता जिसीले साथ दिएकी छिन् । बुझिए अनुसार प्रेमले यस् गीतको थेगो चाहिँ आफ्ना हजुर बुवा डिल्ली सापकोटाबाट लिएका हुन् रे।
सुन्दा नाँचौ नाँचौ लाग्ने यो गीत युट्युबमा भ्युजको हिसावले निकै राम्रो भयो। किनकी यो बिलकुल नयाँ च्यानलबाट रिलिज गरिएको थियो। गायिका शान्ता जिसीकै २७ सब्क्राइब भएको च्यानलबाट रिलिज गरिएको गीतलाई हालसम्म १ लाख ७० हजार बढी पटक हेरिएको छ।
भिडियोमा लोकप्रिय गायक रामजी खाँड र अनु पराजुलीको अभिनय अनि नृत्य देख्न सकिन्छ। नयाँ च्यानलबाट पनि छोटो समयमा यतिधेरै भ्युज जानू भनेको निकै राम्रो हो।
२. गीत : मान्छे मन परेको
प्रकाश कंडेलको युट्युब च्यानलबाट रिलिज गरिएको यो गीतमा खासै त्यति भ्युज आएन। भिडियो हेर्दा चलेका कलाकार करिश्मा ढकाल र लोमश शर्मालाई देख्न सकिन्छ। यसरी चलेका कलाकार हुँदा पनि गीतले त्यति भ्युज पाउन नसक्नु विडम्बना हो। किनकी यस् गीतको अडियो पनि उत्कृष्ट नै छ। प्रेम यस् गीतमा सर्जकको रुपमा जोडिएका छन् ।
अन्य गीत झै यस् गीतमा पनि प्रेमको उत्कृष्ट शब्द अनि संगीत सुन्न सकिन्छ। गीतमा आवाज भने प्रकाश कंडेल र आशा बिसीको रहेको छ। गीतलाई हालसम्म ४० हजार मात्रै भ्युज मिलेको छ।
३. गीत : रेलको चाँबी
झट्ट गीतको टाइटल सुन्दा कस्तो कस्तो लाग्छ। तर गीत भने उत्कृष्ट छ। गीतमा लोकप्रिय गायिका रचना रिमालको आवाज रहेको छ। रचनाका अलवा प्रेमले पनि आवाज भरेका छन् । अन्य गीतमा झै यस् गीतमा पनि प्रेमकै शब्द अनि संगीत रहेको छ। शब्द संगीत अनि आवाज पक्ष सबै अब्बल छ यस् गीतको। तर पनि रचनाको आवाज यस् गीतमा त्यति फिट नभएको होकि भन्ने आभाष हुन्छ गीत सुन्दा। रचनाको स्थानमा अन्य लोकदोहोरी गायिकाको आवाज राखेको भए गीत अझै मिठासयुक्त सुनिने थियो ।
गीतमा प्रेमको आवाज भने मिठासयुक्त नै छ। अब्बल अडियोलाई उत्कृष्ट भिडियो सहित बजारमा ल्याउने मनसायले भिडियोमा चलेका मुहार राखेका छन् प्रेमले। लोकप्रिय मोडल अञ्जली अधिकारी र विजय पुन फिचर्ड छन् यस् गीतको भिडियोमा। उनीहरूको नृत्य आकर्षक लाग्छ। प्रेमले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् यो गीतलाई। सुरुका केही दिनमा युट्युबमा खासै भ्युज नगएको यो गीत भने अहिले राम्रो हुँदैछ्। दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएका छन् ।
यो समाचार तयार पार्दा सम्म गीतलाई २ लाख ४५ हजार बढी पटक युट्युबमा हेरिएको छ। यो गीतबाट धेरै आशा गरेको प्रेम बताउँछन् । गीतलाई टिकटकमा पनि राम्रो रुचाइएको छ। यो गीतलाई प्रेमले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।
४. गीत : स्यानी
यस् गीतका प्रस्तुतकर्ता तिलु शर्मा हुन् । हाल तिलु कतारमा छन् । न आफू गाउँछन, न भिडियोमा खेल्छन् । न गीत लेख्छन् नै। तरपनि गीत संगीतको विशुद्ध मायाले लगानी गर्नेगरेको तिलु बताउँछन् । सोही अनुरुप यस् पटकको तीज गीत “स्यानी” तिलुले बजारमा ल्याए।
रिलिज पुर्व निकै आश गरेका थिए यो गीतबाट सबैले। तर रिलिज पछि सोचेअनुरुप भएन। गीतको अडियो औसत छ। प्रेम सापकोटा सोनु यो गीतमा संगीतकारको रुपमा जोडिएका छन् । प्रेमले आफुले सकेको संगीत दिने कोशिस गरेका छन् । गीतको शब्द भने शरद पान्डेले लेखेका हुन् । गीतमा लोकप्रिय गायक बिक्रम परियार र अमृता श्रीपालको आवाज रहेको छ।
त्यस्तै, भिडियोको कुरा गर्नुपर्दा लोकप्रिय मोडल बिमल अधिकारी, अर्जुन सापकोटा , रबिना भण्डारी लगायतका कलाकारहरु छन् । गीतको अडियो अनुसार भिडियो ठिकै छ। चलेका मुहार भिडियोमा हुँदा पनि गीत खासै चलेन भन्दा फरक नपर्ला। बाबा इन्टरटेन्मेन्ट टिभीको अफिसियल युट्युव च्यानलबाट रिलिज भएको यस् गीतलाई हालसम्म ६६ हजार बढी भ्युज युट्युबमा मिलेको छ। समग्रमा यो गीत पनि औसत नै छ।
यसरी यो वर्ष प्रेमका चार वटा तीज गीत आइरहँदा सबै गीत ठिकठिकै रुचाएका छन् दर्शक स्रोताले। युट्युबमा दर्शकको प्रतिक्रिया हेर्दा सबै गीतलाई सकारात्मक प्रतिक्रिया मिलेको छ।