अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्मा बिहीवारबाट ३३ वर्षमा लागेकी छन् । बैबाहिक जीवनमा बाँधिएपछि पहिलो पटक जन्मदिन मनाउन लागेकी उनको जन्म २०४४ साल साउन १ गते धनगडीमा भएको थियो । उनको बाल्यकाल कैलाली जिल्लामा नै वितेको थियो ।
सन् २००७ देखि ग्ल्यामर दुनियाँमा आफूलाई समाहित गरेकी उनी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् । गत वर्षको मंसिरमा दिपेक्ष राणासँग घरजम बसाएकी ऋचा सन् २००७ मा मिस नेपाल प्रतियोगिताको उत्कृष्ट दशभित्र परेकी थिइन् ।
उनले लिड अभिनेत्रीको रुपमा ब्रेक पाएको फिल्म भने ‘फस्ट लभ’ हो । फिल्म क्षेत्रमा एक दशकको यात्रा पार गरिसकेकी उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
आफ्नो स्टारडमले फिल्म सफल बनाउन सक्ने सामर्थ्य नराखे पनि उनी हरेक प्रकारका भूमिकामा आफूलाई ढाल्न सिपालु छिन् । फिल्म ‘को आफ्नो’ मा उनले ग्रामीण भेगको दुःखी महिलाको भूमिका निभाएकी थिइन् ।
यसमा उनको भूमिका र अभिनयको प्रशंसा भएको थियो । ऋचाको करिअरको सबैभन्दा सम्झनलायक फिल्मको रुपमा भने ‘टलकजंग भर्सेस टुल्के’ लाई लिइन्छ । यो फिल्मले उनलाई राष्ट्रिय अवार्ड समेत दिलाएको थियो ।
फिल्ममा उनले थारु महिलाको भूमिका निभाएकी थिइन् । ऋचा स्वयं पनि आफ्नो करिअरको उत्कृष्ट फिल्मको रुपमा ‘टलकजंग’ लाई लिने गरेकी छन् । केही वर्षयता गुणस्तरभन्दा संख्यात्मक वृद्धिमा जोड दिइरहेकी उनको पछिल्लो रिलिज फिल्म ‘न यता न उता’ हो । प्रदर्शनको पखाईमा भने ‘हिजो आजका कुरा’ छ ।
निर्भिकता र स्पष्ट वक्ताको रुपमा समेत चिनिएकी ऋचा विवादमा उतिधेरै मुछिएकी अभिनेत्रीमा पर्दिनन् । यद्यपि, गएको केही वर्षअघि फिल्म ‘छक्का पञ्जा’ को एक सिनलाई लिएर आपत्ति जनाएपछि दीपकराज गिरी समुहले उनलाई ‘असफल अभिनेत्री’ को संज्ञा दिएको थियो । अहिले उनले केही साथीहरुसँग मिलेर डिटिजल प्लेटफर्म ‘चलचित्र एप’ सञ्चालनमा ल्याएकी छन् । नेपाली फिल्मकी सुन्दरी र प्रतिभावान अभिनेत्री ऋचा शर्मालाई जन्मदिनको हार्दिक शुभकामना ।