काठमाडौँ : गत विहिबार प्रशारित रजतपट कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले ‘भो अब हामीलाई पैसा नपठाउनुस’ भनेकै दिन अमेरिकाबाट अभिनेता सुशील छेत्रीले ‘रजतपट कोसेली अभियान’लाई एक लाख १६ हजार पठाएका छन्। उनले आफ्नी छोरी सुभांगी छेत्री र श्रीमती सबिता छेत्रीको नाममा उक्त सहयोग रकम पठाएका हुन्। ‘रजतपट कोसेली अभियान’को तेस्रो चरणको कोसेली वितरणमा कलाकर्मीका लागि भनेर रकम पठाएका हुन् सुशीलले।
विगत २ बर्ष देखि स-परिवार अमेरिकामा बस्दै आएका सुशील एक समय निकै चर्चित र लोकप्रिय कलाकारमा गनिन्थे। सुशीलले ‘भाई, लडाइ, उपहार, गाजल, मेरो हजुर, आगो, जनयुद्ध, अनाथ, बादशाह’ लगायतका सय भन्दा बढि चलचित्रमा अभिनय गरेका छन्। ‘आगो’ सुशीलाको पहिलो सिनेमा हो। उनले एक बर्षमा ७ ओटा सम्म चलचित्रमा अभिनय गरेका थिए।
नेपालमा चर्चा कमाइसकेपछि ‘मर्द रिक्सावाला, सेरनि, चण्डिका, दिदि तोर देवर दिवाना’ लगायतका भोजपुरी चलचित्रहरुमा समेत अभिनय गरेका छन्। उनले भारतमा सम्पन्न ‘कलाकार अवार्ड’ समेत जित्न सफल भएका थिए। उक्त अवार्ड बलिउड अभिनेत्री रानी मुखर्जीको हातबाट सुशीलले ग्रहण गरेका थिए।