काठमाडौं : नेपाली लोक दोहोरी क्षेत्रकी अब्बल अनि वरिष्ठ गायिका हुन् शर्मिला गुरुङ । विगत २ दशक बढी लामो समयदेखि निरन्तर नेपाली गीत संगीतमा क्रियाशिल शर्मिलाको सुमधुर आवाजका लाखौं पारखीहरु छन् । मौलिक गीत गाउन सधै अग्रसर हुने शर्मिलाका पछिल्लो केही वर्षयता थोरै संख्यामा गीतहरू बजारमा आउने गरेका छन् ।
उनको आवाजमा थोरै गीतहरू बजारमा आएपनि मौलिक एवम् उत्कृष्ट हुन्छन् । हजारौं गीतहरूमा आवाज भरिसकेकी शर्मिलाको यतिबेला नयाँ गीत बजारमा आएको छ। केही दिन अघि रिलिज “एकै रातले” बोलको गीतमा शर्मिलाको मनछुने आवाज सुन्न सकिन्छ। शर्मिलालाई अर्का अब्बल अनि लोकप्रिय गायक कुशल बेलबासेले गायनमा साथ दिएका छन् ।
त्यसो त, कुशल पनि पछिल्लो समय दर्शक स्रोताले सर्वाधिक खोज्ने गायकमा पर्ने गर्छन् । यस् “एकै रातले” गीतमा पनि कुशलको आवाजले दर्शक स्रोतालाई मोहित पार्ने गर्छ। प्रेम वियोगको पीडामा आधारित उक्त गीतमा शर्मिलाकै मौलिक संगीत रहेको छ।भने, शब्द गायक तथा सर्जक बालकुमार श्रेष्ठले कोरेका छन् । एकै रातको गल्तीले जिन्दगी बिगारेको कुरालाई गीतमा उतारिएको छ।
सम्बन्धलाई राम्रोसँग निभाउन नसक्दा वर्षौंदेखिको सम्बन्ध एकै रातमा सकिने कुरा गीतका शब्दहरु सुन्दा आभाष हुनेगर्छ । गीतमा थेगो चाहिँ गायिका निशा केसीको रहेको छ। गीतको अडियो सुन्ने जोकोहीलाई गीतले सुरुदेखि अन्त्यसम्म बाँध्नेगर्छ। किनभने, गीतको गायिकी, संगीत अनि शब्द पक्ष निकै उत्कृष्ट छ।
जति गीतको अडियो अब्बल छ, त्यति भिडियो भने अब्बल बनेको छैन। सायद कोरोना महामारीको कारणले होला निर्माण टिमले स्टुडियोमै गायक गायिकालाई फिचर्ड गराएर सामान्य भिडियो बनाएको छ। तरपनि दर्शकले उक्त भिडियो रुचाएका छन् । मारुनी रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको भिडियोका निर्देशक राजन क्षेत्री हुन् ।
भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् । ईनेपाल खबरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोलाई सम्पादन गर्ने काम विष्णु शर्माले गरेका हुन् । हेर्नुहोस भिडियो…..