काठमाडौं : कोरोना कहरका कारण नेपालमा भएको दोस्रो चरणको लकडाउन एवम् निषेधाज्ञाका कारण धेरैलाई अनेकन समस्या परेको छ। मुख्य समस्या भनेकै भोकमरी भएको पाइएको छ। यतिबेला सम्पूर्ण व्यवसायहरु ठप्प छन् ।
अन्य क्षेत्रसंगै कला क्षेत्र पनि यतिबेला ठप्प नै छ। कला क्षेत्रका अधिकांश कलाकारहरुलाई यो विषम परिस्थितिमा भोकमरीको समस्या परेको खबरहरु बहिरिरहेका छन् । त्यसो त कला क्षेत्रकै अधिकांस कलाकारहरु अफ्ट्यारोमा परेका सर्वसाधारण एवम् अन्य कलाकारहरुलाई सहयोग गर्दै पनि आइरहेका छन् ।
यसैबीच, लोक दोहोरी गायक यज्ञ बिक र डान्सर यमुना रसालले पनि संयुक्त रुपमा आज अफ्ट्यारोमा परेका कलाकारहरुलाई सहयोग गरेका छन् । दोहोरी सांझमा काम गर्ने कलाकारहरु, जो यतिबेला काम बिहिन भएर बसेका छन् । तिनै कामबिहीन कलाकारहरुलाई यज्ञ र यमुना मिलेर करिब ४० हजार बराबरको खाद्यान्न सहयोग शुक्रबार गरेका हुन् । उनीहरूको खाद्यान्न वितरण कार्यक्रममा सन्चारकर्मी कमल सरगमको पनि उपस्थिति रहेको थियो।
थोरै भएपनि अफ्ट्यारोमा परेका कलाकारहरुलाई राहत महसुस होस् भनेर एसटिईपिपिएन डान्स स्टुडियोको सहकार्यमा यज्ञ र यमुनाले उक्त खाद्यान्न सहयोग गरेका हुन् । सक्ने जो सुकैले अफ्ट्यारोमा परेका जो सुकैलाई सहयोग गर्न उनीहरूको आग्रह रहेको छ।
यज्ञ र यमुना नेपाली सांगीतिक क्षेत्रका सक्रिय कलाकारहरु हुन् । कलासंगै सामाजिक कार्यमा पनि उनीहरूको संलग्नता पछिल्लो समय बढिरहेको छ। जुन, निकै सराहनीय कार्य हो।