
काठमाडौं : त्यसो त पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा नव सर्जकहरुको आगमन हुने क्रम बढ्दो छ। नव सर्जक भित्रीनु नेपाली सांगीतिक क्षेत्रका लागि राम्रो पाटो पनि हो। कतिपयले राम्रो सृजना गरेका कारण दर्शक स्रोताको माया पाइरहेका छन् भने कतिले उच्छृङ्खल खालका सृजना गरेको भएर आलोचना समेत खेपिरहेका छन् ।
यस्तै, अब्बल गीत सृजना गर्ने नव सर्जकहरु मध्ये एक हुन् आयान न्यौपाने । पर्वतमा जन्मिएका आयान पछिल्लो समय गीत सृजनामा निकै सक्रिय छन् । त्यसो त सानैदेखि गीत संगीत सृजना गर्न अनि गाउन रुचि राख्ने आयानले गाउँघरमा धेरै कार्यक्रममा आफैले गीत लेखेर सुनाउने गरेको बताउँछन् । अनौपचारिक रुपले सानैदेखि सांगीतिक क्षेत्रतिर आकर्षित भएपनि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा होमिएको धेरै भएको छैन आयानको। सर्जकको रुपमा प्रस्तुत हुन थालेको करिब २ वर्ष जति भयो उनको।
करिब २ वर्षको अवधिमा उनले लेखेका ४ वटा गीत बजारमा आइसकेका छन् । उनले “सजाय” नामक लोक दोहोरी एल्बमबाट नेपाली सांगीतिक क्षेत्रमा सर्जकको रुपमा डेव्यु गरेका हुन् । पहिलो गीत सोचे अनुरुप नचलेको भएपनि आफू चाहिँ सन्तुष्ट भएको आयान बताउँछन् । अग्रज सर्जकहरुका गीतहरू सुन्दै आफुले गीत लेख्न सिकेको बताउने आयानलाई दर्शक माझ थोरै भएपनि चिनिन पाए हुन्थ्यो भन्ने चाहा निकै थियो। अन्ततः उनको यो चाह पूरा गरिदियो पछिल्लो समय बजारमा आएको “मुटु बैना” बोलको गीतले।
जुन गीतमा शब्द अनि संगीत आयानले नै गरेका थिए। लोकप्रिय गायक प्रेम सापकोटा ‘सोनु’ र गायिका रचना रिमालको सुमधुर आवाज गीतमा रहेको छ। गीतलाई रिलिज भएको छोटो समयमै अत्याधिक रुचाइयो। सामाजिक संजाल टिकटकदेखि फेसबुक हुँदै युट्युब तिर पनि दर्शक स्रोताको राम्रो माया पायो गीतले। प्रायः वियोगान्त गीत लेख्न रुचाउने आयानको लागि यो डान्स बिटको गीत लेख्न चुनौती नै थियो। किनकी गीत लेखनमा आयान त्यति भिजेका थिएनन् । तर आयानको यो कामलाई दर्शक स्रोताले निकै रुचाइदिए। जसले गर्दा डान्सिङ प्याटर्नका गीत पनि आयानले लेख्न सक्छन् है भन्ने प्रमाणित भयो।
सुन्दा प्रेमिल अनि मेलोडियस लाग्ने गीतमा प्रेम र रचनाको गायिकी उत्कृष्ट सुनिएको छ। आयानको शब्द अनि संगीत पनि अब्बल लाग्ने गर्छ। यो गीत बजारमा आइसकेपछि अग्रज कलाकारहरुबाट राम्रो प्रतिक्रिया मिलेको पनि आयान बताउँछन् । त्यसो त प्रेमिल प्रेम जोडीको कथामा भएको भएर होला युवा पुस्ताको निकै प्यारो बन्यो गीत।
युट्युबमा पनि छोटो समयमै राम्रो भ्युज पाएको छ गीतले। यो रिपोर्ट तयार पार्दा सम्म १ महिनाको अबधीमा करिब १४ लाख बढी भ्युज, १३ हजार बढी लाइक अनि ५ सय बढी सकारात्मक कमेन्ट गीतलाई युटुबमा मिलेको छ। टिकटक तिर पनि यस् गीतका अंशमा हजारौं भिडियो बनेका छन् । यसरी छोटो समयमै दर्शक स्रोताले गीतलाई अत्याधिक रुचाउँदा आयान यतिखेर खुशीले गदगद छन् ।
गीतको अडियोसंगै भिडियो पनि अब्बल भएकाले होला दर्शक स्रोताले गीतलाई यति धेरै रुचाइदिएको। प्रेम सापकोटा सोनुको अफिसियल युटुब च्यानलबाट रिलिज भएको भिडियोमा गायक तथा मोडक अर्जुन सापकोटा र लोकप्रिय मोडल अञ्जली अधिकारी फिचर्ड छन् । अर्जुन र अञ्जलीको जोडि भिडियोमा गजब देखिएको छ। भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । आकर्षक फ्रेममा सुरेश श्रेष्ठले खिचेको भिडियोलाई सम्पादन गर्ने काम प्रकाश धमलाले गरेका थिए।
डान्सिङ प्याटर्नमा आधारित आफुले सृजना गरेको पहिलो गीतले छोटो समयमै यति धेरै दर्शक स्रोताको माया पाउँदा आगामी दिनमा अझै राम्रा गीत सृजना गर्ने हौसला मिलेको आयान बताउँछन् । यो गीत रिलिज भएपछि केही मात्रामा भएपनि आयानलाई सर्जकको पहिचान मिलेको छ। आयानका अनुसार सोही मुटु बैनाको टिमको सहकार्यमा अर्को गीत बजारमा छिट्टै आउनेछ। दर्शक स्रोताले नयाँ कामलाई मुटु बैना जत्तिकै रुचाउँछन् कि रुचाउँदैनन त्यो त रिलिज भएपछि थाहा होला।