काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा अब्बल सृजना गर्ने सर्जकहरु प्रायः कमै मात्रामा छन् । झट्ट हेर्दा धेरै सर्जकहरु देखिएता पनि उत्कृष्ट सृजना गर्ने सर्जकहरुको संख्या न्यून छ भन्दा फरक नपर्ला । तर उत्कृष्ट लोकदोहोरी गीत सृजना गर्ने सर्जकहरु भित्र पर्ने एक सर्जक हुन् विजय चन्द ‘दर्पण’। आधा दर्जन बढी उत्कृष्ट गीत सृजना गरिसकेका विजय हाल आफैले सृजना गरेको “चौका दाउ” गीतको कारण रातारात चर्चित बनेका छन् । उनलाई पछ्याउनेहरुको संख्या बढ्दो क्रममा छ।
नेपालको मनोरम एवम् माओवादी युद्धले चिनिने जिल्ला भनेर चिनिने रुकुम जिल्लामा जन्मिएका विजय हाल अमेरिकामा छन् । उनी आफ्नो राजनीति आस्था अनि विचारका कारण माओवादीबाट विस्थापित भएका गीतकार हुन् । अमेरिका मै भएर पनि नेपाली लोक दोहोरी गीतलाई विजयले दिएको योगदान निकै अमुल्य छ। विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएपनि विजयले गीत संगीतको यात्रामा भने विराम लगाएका छैनन् । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन् विजयले। त्यसो त विजय मौलिक गीत सृजना गर्ने सर्जक भनेर चिनिने गर्छन् । उनका सृजनाहरु प्रायः यथार्थप्रक हुन्छन् । आफ्ना सपनाहरु, भोगाइहरु र कल्पनाहरुलाई शब्दमा उन्नु उनको विशेषता हो। त्यसो त, मौलिकपनलाई गीतमा उतार्न सक्ने खुवी भएका सर्जक पनि हुन् विजय।
हालसम्म उनले लेखेका दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् l ति मध्ये केही गीतहरू त एकदमै लोकप्रिय पनि भएका छन् । उनले सृजना गरेका लोकप्रिय गीतहरूको लिस्टमा अग्र स्थानमा पर्ने गीत हो ‘चौका दाउ’ बोलको गीत। यो गीत लोकप्रिय मात्रै भएन अत्याधिक चर्चित पनि बन्यो। यतिसम्मकी बालक देखि वृद्ध आमा बुवाको मुखमा झुण्डियो चौका दाउ। केही महिना अघि बजारमा रिलिज भएको यो गीत विजयले अमेरिकामै लेखेका हुन् । बुझिए अनुसार करिब २ दिन लगाएर विजयले चौका दाउ गीत लेखेका हुन् रे।
झट्ट सुन्दा “चौका दाउ” सामान्य लागेपनि गीत भित्र धेरै कुराहरु अटाउन सफल भएका छन् विजय। आफू जन्मेको भुमी भएर होला विजयले चौका दाउमा अलि धेरै रुकुमका कुराहरु समेटेका छन् । चौका दाउ भित्र सबै मौलिक शब्दहरू छन् । मौलिक शब्दहरुलाई एउटा प्रेमिल प्रेम जोडीको कथामा ढालेका छन् बिजयले। विजयका मौलिक शब्दहरुमा लोकप्रिय गायक बाबू कृष्ण परियारले त्यस्तै मौलिक मेलोडी दिए। साँच्चिकै शब्द अनुसारकै मेलोडी गीतले पाएको आभाष हुन्छ अहिले गीत सुन्दा। गीतमा लोकप्रिय गायिका शान्ती श्री परियार र बाबू कृष्णकै सुमधुर आवाज छ। जहाँ बाबू र शान्तिको गायिकी मिठास सुनिएको छ।
गीत सार्वजनिक भएको केही दिनमै यत्रतत्र सर्वत्र चर्चित बनेको थियो। यतिसम्मकी सामाजिक सन्जाल फेसबुक, टिकटक अनि युट्युब तिर चौका दाउकै चर्चा परिचर्चा थियो। चर्चाकै कुरा गर्नुपर्दा गीतलाई हालसम्म करिब २ महिनाको अबधिमा २ करोड बढी पटक युट्युबमा हेरिएको छ। त्यस्तै लाखौं लाइक र दर्शकको हजारौं सकारात्मक प्रतिक्रिया पनि गीतले युटुबमा पाएको छ। टिकटकमा त करिब १ महिनासम्म चौका दाउले बर्चस्व नै जमायो। लाखौं टिकटक भिडियो बनिसकेका छन् । जसले गर्दा चौका दाउको प्रचारप्रसारमा ठूलो टेवा पुग्यो।
गीतको अडियोसंगै भिडियो पनि निकै दमदार बनेका कारण पनि दर्शक स्रोताले गीतलाई अत्याधिक रुचाए। भिडियोमा लोकप्रिय डान्सर सुनिल क्षेत्री र मोडल गीत ढुंगाना फिचर्ड छन् । भिडियोलाई सुनिलले नै निर्देशन गरेका थिए। आफ्नै एकदमै नयाँ च्यानल “विजय चन्द दर्पन” नामको युटुबबाट विजयले गीत रिलिज गरेका थिए। नयाँ च्यानलमा यतिधेरै भ्युज जाँदा विजय लगायत निर्माण टिम यतिबेला निकै हर्षित छ। हाल विजयको च्यानलमा १ लाख बढी सब्सक्राइब पुगेका छन् । ताकि चौका दाउ रिलिज गर्दा जम्मा ४५ सय मात्र सब्सक्राइब थिए। हाल चौका दाउले विजयलाई पनि चिनाएको छ। विजय चन्द दर्पण पनि सर्जक हुन् भनेर थाहा नपाएका लाखौं दर्शक स्रोताले पनि अहिले विजयलाई सर्जकको रुपमा चिनिसकेका छन् ।
‘गीतमा रुकुम र दमौली शब्द थेगोको रुपमा प्रयोग भएकोले गीत भेगिए हुन्छ कि भन्ने डर थियो तर गीत सबैतिर लोकप्रिय बनिदियो”, विजय भन्छन् ,”भ्युज बढी हुनु र लोकप्रिय हुनु फरक कुरा हो। म भ्युजको आधारमा चर्चित हुनु भन्दा पनि दर्शक स्रोतामाझ भएको लोकप्रियतामा विश्वास गर्छु। त्यसै अनुरुप सिमित दर्शक स्रोताले मात्रै गीत रुचाउनुहुन्छ जस्तो लागेको थियो तर गीतले नसोचेकै सफलताको स्वाद दियो। गीत चर्चित र लोकप्रिय दुबै बन्न सफल भयो। त्यसैले गीतलाई यतिधेरै चर्चित अनि लोकप्रिय गराइदिने सम्पुर्ण दर्शक स्रोता प्रति आभारी छु। म एक्लैले नभिई हाम्रो सम्पुर्ण टिमले गरेको अथक मिहिनेतले आज सार्थकता पाएको आभाष भएको छ। हाम्रो टिम निकै खुशी छौँ।”
यसरी छोटो समयमै गीतले चौतर्फी चर्चा अनि लोकप्रियता कमाउँदा अझै अरु राम्रा राम्रा गीत सृजना गर्न हौसला एवम् प्रेरणा मिलेको विजय बताउँछन् । आगामी दिनमा पनि मौलिकपनलाई निरन्तर दिने सोचमा छन् उनी। चौका दाउले दिएको अपार सफलतापछि छिट्टै सोही चौका दाउकै टिमको सहकार्यमा नयाँ गीत ल्याउने तयारीमा रहेको विजयले बताए।
व्यवसायीक भन्दा पनि गीत संगीतमा निरन्तरता अनि आत्मसन्तुष्टिका लागि गीत संगीतमा होमिएको उनको भनाइ छ। प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा पुर्याएको विजयको योगदान साँच्चिकै अतुलनीय रहेको छ।