काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा अनवरत रुपमा लागिपरेका सर्जक तथा गायक हुन् खेम पुन । बाग्लुङ जिल्लामा जन्मिएका सर्जक पुनले गीत संगीतको महासागरमा करिब १ दशक अगाडी हाम फालेका हुन् ।
गीत संगीतमा राम्रो हुँदा हुँदै पनि खेम रोजगारको लागि केही बर्ष पहिले अमेरिका गए। अमेरिका गएको लामो समय भइसक्यो। तर पनि खेमले गीत संगीतको यात्रालाई भने छोडेका छैनन् । पछिल्लो समयमा खेमले अमेरिकामै बसेर पनि गीत संगीतमा राम्रो गरिरहेका छन् ।
हाल सम्म सयौं गीत सृजना गरिसकेका खेमले दर्जनौं बढी गीत पनि गाएका छन् । उनले सृजना गरेका अधिकांश गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय पनि छन् । यसैबीच, बजारमा आएको उनको पछिल्लो सृजना हो “फिक्का चिया” बोलको गीत।
जुन गीतले छोटो समयमा दर्शक स्रोताको अत्याधिक मात्रामा माया पायो। लोकप्रिय गायक खेम सेन्चुरी र भुमिका गिरीको सुमधुर आवाज रहेको गीतमा खेमले मेलोडियस संगीत सृजना गरेका थिए। गीतमा पत्रकार तथा समाजसेवी राजन क्षेत्रीले शब्द कोरेका थिए।
अन्य गीत भन्दा एकदम पृथक अनि मेलोडियस लाग्ने यही गीतबाट सर्जक पुनले उत्कृष्ट संगीतकारको अवार्ड पाउन सफल भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न “नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७” बाट खेमले लोक दोहोरी तर्फ “फिक्का चिया” गीतबाट उत्कृष्ट संगीतकारको अवार्ड हात पार्न सफल भएका हुन् । विभिन्न विधामा उक्त अवार्ड सम्पन्न भएको हो ।
अझ खुसीको कुरा त यसै गीतबाट गायिका भुमिका गिरीले पनि उत्कृष्ट गायिकाको अवार्ड पाउन सफल भएकी छिन् ।यसरी एउटै गीतका संगीतकार र गायिकाले एकैपटक अवार्ड प्राप्त गर्न सफल हुँदा फिका चियाको निर्माण टिम खुशीले मख्ख छ। त्यसो त, खेम पुन पनि एकदमै हर्षित छन् । अमेरिकाको बसाइ अनि व्यस्त समय तालिकाका बाबजुद पनि गीत संगीतमा दिएको समयले एवम् मिहिनेतले आज यसरी सम्मान पाउँदा आफू एकदमै हर्षित भएको खेम बताउँछन् ।
यो अवार्डले आगामी दिनमा अझै उत्कृष्ट गीत संगीत सृजना गर्ने हौसला मिलेको पनि खेमले बताए। गीत संगीतमा अझै केही गर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ।