विश्वभर विपत्त निम्त्याएको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । तर, अझै मानिसहरु ढुक्कका साथ घरभन्दा बाहिर निस्किन सकेका छैनन् ।
नियन्त्रणभन्दा बाहिर गइरहेको यसको संक्रमणले हरेकको ओठको मुस्कान लुटेको छ । फेरि पहिल्यको जस्तो अवस्था कहिले फर्किएला, सबै प्रतिक्षामा छन् । कोरोनाका कारण जारी लकडाउनले आम सर्वसाधारणको मात्र नभइ सेलिब्रेटीको दिनचर्यामा पनि असर पारेको छ । लकडाउनका कारण फिल्मको निर्माण/प्रदर्शन रोकिँदा उनीहरुको दैनिकी घरको चारकुनामा वितिरहेको छ ।
पहिलो पटक यति लामो समय कामविहीन भएर बस्नु पर्दा धेरै कलाकारलाई छट्पटी भैरहेको छ । उनीहरुलाई एक्सन-कटको न्यास्रो लागेको छ । लकडाउनले हरेकको खुसी लुटेको अवस्थामा बरिष्ठ कलाकार, निर्माता तथा निर्देशक नीर शाहले त्यो गुमेको खुसी चाँडै फर्किने विश्वास व्यक्त गरेका छन् । उनले फेसबुक पेजमा आफ्नो एक हँसिलो तस्विर साझेदार गर्दै लेखेका छन्, ‘लकडाउनले गुमेको खुसी फेरि फर्किनेछ एक दिन ।’ उनको आशावादी स्टाटसमा धेरै फिल्मकर्मीले सुनौलो दिनको प्रतिक्षामा रहेको बताएका छन् ।
दमदार आवाजका धनी कलाकार शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट अभिनय करिअर सुरु गरेका थिए । करीब ३ सयभन्दा बढी फिल्ममा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका उनी महँगा चरित्र अभिनेताको रुपमा परिचित छन् । उनले ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ फिल्मको निर्देशन पनि गरिसकेका छन् ।