काठमाडौं : पछिल्लो समय प्रायः डान्सिङ शैलीका गीतहरू बजारमा आइरहेका छन् । दिनहुँजसो दर्जन बढी म्युजिक भिडियोहरु रिलिज हुन्छन् । रिलिज भएका गीतहरू केलाउने हो भने कमै मात्रामा वियोगान्त गीतहरू पाउन सकिन्छ।
यसैबीच, नेपाली सांगीतिक बजारमा एउटा वियोगान्त गीत रिलिज भएको छ। जुन गीतलाई रिलिज भएको छोटो समयमै दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । शनिबार रिलिज “कन्चन” बोलको उक्त गीतमा लोकप्रिय गायक प्रताप दास, गायिका प्रविशा अधिकारी र लक्ष्मी खड्काको सुमधुर आवाज रहेको छ।
गीतमा कलाकार विजय पुनले शब्द लेखेका छन् भने ऋषि खड्काले मन छुने संगीत दिएका छन् । गीतका अरेन्जर विशाल निरौला हुन् । गीतको संगीत पक्षसंगै समावेश शब्दहरू एकदमै मर्मस्पर्शी छन् । गीत वास्तविक एउटा अधुरो प्रेम कहानीमा आधारित रहेको निर्माण टिमले जनाएको छ।
केही समय अघि आफुले प्रेम गर्ने प्रेमिकालाई नपाएपछि विष सेवन गरि आत्महत्या गरेका चितवनका कन्चन तिमिल्सिनाको अधुरो प्रेम कहानीलाई गीतमा उतारिएको बताइएको छ।
चितवनकै अनिशा कुमालको प्रेममा रहेका कन्चनले भगाएर विहे गरेपनि पछि अनिशाको परिवारले नस्वीकार्दा कन्चनले विष सेवन गरेका थिए। विष सेवन गरेका कन्चनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। अस्पताल उपचारको करिब ३ महिनापछि केही हप्ता अघि कन्चनको अस्पतालमै मृत्यु भएको थियो।
हो, यही वास्तविक घटनालाई गीत र भिडियो मार्फत निर्माण टिमले प्रस्तुत गरेको छ। गीतको अडियो जति मनछुने छ, भिडियो हेर्दा झन आँखा रसाउने गर्छन् । भिडियोमा कलाकार रमा थपलिया, विजय पुन, गीता ढुंगाना, मोहन वस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
भिडियोमा गीता र विजयको जीवन्त अभिनय रहेको छ। भिडियो हेर्दा साँच्चै वास्तविक घटना जस्तै आभाष हुनेगर्छ । साँच्चै कारुणिक अभिनय गीता र विजयले गरेका छन् । भिडियोलाई निर्देशन प्रविन भट्टले गरेका हुन् । उत्कृष्ट तरिकाले कलाकारलाई भिडियोमा प्रबिनले स्क्रिन प्ले गराएका छन् ।
मेचीकाली खबरको अफिसियल युटुब च्यानलबाट रिलिज भएको गीत २४ घण्टा नहुँदै युटुबको ट्रेन्डिङमा पनि पर्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म गीत १८ नम्बर ट्रेन्डिङमा आइपुगेको छ। गीतलाई एकदमै सकारात्मक प्रतिक्रिया मिलेको छ। करिव १ दिनमै ४ लाख ३० हजार बढी भ्युज मिलेको छ।
भिडियो अजय रेग्मीले खिचेको भिडियोलाई सहनिर्देशन सागर बाबू भट्टले गरेका हुन् । भिडियोको सम्पादन पनि निर्देशक स्वयं प्रबिन भट्टले नै गरेका छन् । सह सम्पादनको काम उत्तम कुमार कार्कीले गरेका हुन् ।