काठमाडौं : पछिल्लो केही हप्तादेखि एउटा गीतको खुब चर्चा भयो। उक्त गीतमा समाबेश शब्दहरुको खुब तारिफ पनि भयो। मर्मस्पर्शी सहित यथार्थ अवस्था बोकेको उक्त गीत थियो “रेलको बाटो” बोलको गीत।
गीतकारले आफ्ना शब्दहरू मार्फत सुदुरपश्चिमको यथार्थ चित्रणलाई गीतमा उतारेको भएर होला धेरैको मुखबाट मनछोयोको प्रतिक्रिया यत्रतत्र पाइयो। गीतमा सुरज पण्डितले संगीत अनि आवाज दिएका छन् । गीत चाहिँ लेखराज गिरीले लेखेका हुन् । सुरज पण्डितको अफिसियल च्यानलबाट यस् गीतलाई सामान्य लिरिकल भिडियो बनाई अपलोड गरिएको थियो।
सायद अडियो निकै सशक्त भएर होला छोटो समयमै यस् गीतको चर्चा चौतर्फी भयो। उसो त, गीतको भाव अनुसार भिडियो हेर्ने चाहना धेरैको भएको पनि पाइयो। अन्ततः दर्शकको भिडियो हेर्ने चाहाना अनुरुप बिन्दास मिडिया नेटवर्कले अफिसियल भिडियो बनाउने निर्णय गर्यो र छायांकनका लागि निर्माण टिम डोल्पा पुग्यो।
धेरै अफ्ठ्यारा परिस्थिति र बाधा सहित छायांकन गरिएको हप्ता दिन नहुँदै “रेलको बाटो”को अफिसियल भिडियो बिहीबार रिलिज भएको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। जसरी गीतका प्रत्येक शब्दहरूले मन छुन्छन, त्यसरीनै भिडियोका हरेक दृश्यहरुले पनि मन छुने गर्छन् ।
भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार चिरञ्जीवी सापकोटा(जिबी चिरण) , सरस्वती खत्री र लक्ष्मण देवकोटा फिचर्ड छन् । भिडियोमा जिबी र सरस्वातीले कारुणिक एवम् जीवन्त अभिनय गरेका छन् ।
डोल्पामा बस्ने एउटा सामान्य दम्पतीको दैनिकी, उनीहरूले गर्ने संघर्ष र सेवा सुविधा नहुँदा पाउने दुख एवम् पिडालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ। भिडियो हेर्दा जिबी र सरस्वतीको अभिनयले जोकोहीको आँखा रसाउने अवस्था सृजना गर्छ।
अफिसियल भिडियो बन्नु भन्दा पहिलेनै लोकप्रिय भएको गीतलाई न्याय हुने खालको भिडियो निर्माण टिमले बनाएको छ। निर्माण टिमले एकदमै मिहिनेत गरेक कुरा भिडियोमा झल्किन्छ।
भिडियोको परिकल्पना तथा निर्देशन लक्ष्मण सुनारले गरेका हुन् । उनको यो निर्देशकिय पक्ष साँच्चै तारिफयोग्य छ। भिमसेन कल्यान ठकुरीले भिडियो खिचेका हुन् । त्यस्तै, ड्रोनबाट दृश्यहरु कैद गर्ने काम अनिश घर्तीले गरेका छन् । भिडियो सम्पादन पदम सुवेदीले गरेका हुन् ।
भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस भिडियो…