काठमाडौं : केही महिना अघि एउटा धुन बजारमा सार्वजनिक भयो। सार्वजनिक भएको उक्त धुनलाई छोटो समयमै धेरैले रुचाए। एएन एक्स म्युजिकले उत्पादन गरेको थियो त्यो धुन।
टिकटकबाट एकदमै लोकप्रिय बनेको त्यो धुन मन नपराउने सायदै होलान् । धेरै युटुबरको ब्यागराउण्ड म्युजिक बन्यो त्यो धुन। उसो त अहिले पनि एकदमै लोकप्रिय छ। उक्त धुनलाई युटुबमा १७ लाख बढी भ्युज मिल्दै गर्दा, त्यही धुनले एउटा कारुणिक अनि उत्कृष्ट शब्द पाएको छ।
अहिले त्यो धुन, धुनमा मात्र सिमित रहेको छैन । धुनले एउटा मीठो आवाजसंगै उत्कृष्ट शब्द पनि पाएको छ। धुन अब एउटा कारुणिक गीतमा पतिणत भएको छ। मीठो आवाजसंगै मर्मस्पर्शी शब्द दिएर “दुरी मजबुरी” बोलको गीत बनाउने काम गरे लोकप्रिय गायक सिडी विजय अधिकारीले।
भ्वाइस अफ नेपाल सिजन १ का विजेता समेत रहेका सिडीले उक्त धुनमा दिएको शब्द अनि स्वरलाई यतिबेला छोटो समयमै एकदमै रुचाइएको छ। गीतमा सहगायनमा प्रविशा अधिकारीले साथ दिएकी छिन् ।
गीतको मेलोडी जति मनछुने छ, शब्दहरू पनि त्यतिकै मर्मस्पर्शी छन् । साँच्चिकै सिडीले धुनलाई न्याय दिएको आभाष हुनेगर्छ।
“उसो त,पहिल्यै लोकप्रिय बनेको धुनमा काम गर्न मलाईलाई एकदमै चुनौतीको विषय थियो।”, सिढी भन्छन् , “तथापी एउटा बलियो आँट लिएर शब्द लेखेँ, गाउन प्रयास गरें। जुन गीतलाई अहिले दर्शल स्रोताले अत्याधिक रुचाइदिनुभएको छ। धेरै हर्षित भएको छु म। अडियोमा गर्नुपर्ने सबै मिहेनत मैले गरेको छु। भिडियोमा पनि सबै टिनको त्यतिकै मिहेनत थियो। जसका कारण युटुब ट्रेन्डिङमा पनि गीत पर्न सफल भयो।”
गीतलाई दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएका छन् । युटुबको कुरा गर्नुपर्दा यो गीत ट्रेन्डिङको यात्रामा उकालो लाग्ने क्रम बढ्दो छ। यो समाचार तयार पार्दासम्म करिब ३ दिनको अवधीमा ५ लाख ८० हजार बढी भ्युज सहित ट्रेन्डिङ २ मा पर्न सफल भएको छ यो गीत। त्यस्तै, ३४ लाख बढी लाइक अनि २ हजार बढी सकारात्मक कमेन्ट गीतलाई युटुबमा मिलेको छ।
गीतको अडियो जति सशक्त छ, भिडियो झन आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय कलाकार सुधीर श्रेष्ठ र अनु न्यौपाने फिचर्ड छन् । एउटा प्रेमिल जोडीको चोखो प्रेम बाहिरी शत्रुका कारण असफल भएको कारुणिक पिडालाई भिडियोमा देखाइएको छ। साँच्चिकै सुधीर र अनुले गीतको भाव अनुसार जीवन्त अभिनय गरेका छन् । सरोज खनाल, रश्मि भट्ट लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ।
भिडियोको परिकल्पना तथा निर्देशन उत्तम श्रेष्ठ ‘शिशिर’ले गरेका हुन् । बुझ्नमा आए अनुसार उत्तमले आफ्नै जीवनको वास्तविक कथालाई भिडियोमा देखाएका हुन् रे। ८ मिनेट १८ सेकेन्डको उक्त भिडियो हेर्दै गर्दा एउटा पुरा फिल्म हेरेको जस्तो आभाष हुनेगर्छ । लोकप्रिय स्थल कालिन्चोकमा आकर्षक फ्रेममा खिचिएको भिडियो मेकिङ उच्च छ।
भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । त्यस्तै, अमृत चापागाईंले भिडियोको सम्पादन एवम् कलर गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेन्मेन्टको युटुब च्यानलबाट रिलिज गरिएको हो।