
काठमाडौं : सुखमा होस् या दुखमा मानिसले गीत संगीतको सहारा लिने गर्छ। अझ भनौं , संगीतलाई साथी बनाउने गर्छ मान्छे। हरकोही गीत संगीत मानिसको साथी सहजै बन्न सक्दैनन् पनि । जुन गीतले मन छुन्छ, त्यही गीतलाई मनमा सजाउँछन दर्शक स्रोताहरु ।
यस्तै, दर्शक स्रोताको साथी बन्न लायक गीत सृजना गर्ने सर्जक हुन् सुरह गैह्रे विवश। जीवन बोल्ने गीत लेख्न रुचाउने सर्जक गैह्रेका थोरै गीतहरू बजारमा छन् तर जीवन्त बन्न लायक छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृजना गर्न रुचाउने उनका दर्जनौं बढी गीत लोकप्रिय छन् ।
शिव परियारको आवाजमा रहेको “धुजा धुजा” बोलको गीतबाट गीत लेखनमा डेव्यु गरेका गैह्रेले हालसम्म २/३ ओटा चलचित्रका गीत समेत लेखिसकेका छन् । चलचित्र सेल्फी किङमा समावेश उनले लेखेको “जिन्दगीको के छ र भर” बोलको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाए। जुन गीत सुन्दा भावुक नहुने सायदै होलान् ।
यसैबीच, सर्जक गैह्रेकै कारुणिक शब्द सृजना रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार ओएसआर डिजिटलको युटुब च्यानलबाट रिलिज भएको “आशीर्वाद” बोलको गीतमा गैह्रेसंगै अशोक कुमार तिमिल्सिनाको पनि शब्द रहेको छ।
धन कमाउने आसले परदेश छिरेको छोरा र त्यही छोराको पर्खाइमा घरमा रहेकी आमाको कथालाई कारुणिक अनि मर्मस्पर्शी शैलीमा गीतमा उतारिएको छ। गीतमा गायक केतन क्षेत्रीले आवाज दिएका छन् । भने, सुभाष भुसालको मनछुने संगीत गीतमा सुन्न सकिन्छ। गीतमा समाबेश शब्द बास्तवमै कारुणिक छन् । सुन्ने जोकोहीको मन भावुक हुने गर्छ। केतनको गायिकी त झन उत्कृष्ट सुनिएको छ गीतमा। सन्तानको प्रतिक्षामा रहेका लाखौं आमाहरुका आँखा सायद यो गीत सुन्दा रसाउँछन।
जसरी गीतको अडियो मनछुने छ, भिडियो पनि त्यतिकै मनछुने बनेको छ। विदेशियका सन्तानका लागि बिरामी आमाको पर्खाइ, त्यसैमाथी कोरोनाको बज्रपात अनि छोरा आउने आसै आसमा ज्यान गुमाएकी आमालाई भेटन नपाउँदा सन्तानलाई उत्पन्न पिडाको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।
भिडियोमा लोकप्रिय कलाकार मिथिला शर्मा , अशोक तिमिल्सिना ,सुरज लामा लगायतका कलाकारहरु फिचर्ड छन् । गीतको भाव अनुसार भिडियो बनाइएको छ। आमाको भुमिकामा मिथिला शर्मालाई भिडियोमा देख्न सकिन्छ।भने, छोराको भुमिकामा अशोक तिमिल्सिना छन् ।
एक गीति कथाको रुपमा बनाइएको भिडियोमा मिथिला शर्माले जीवन्त अभिनय गरेकी छिन् । उनको अभिनयले दर्शकलाई भावुक बनाउँछ। भिडियोको परिकल्पना तथा निर्देशन अशोकले नै गरेका हुन् ।उनको निर्देशकिय पक्ष भिडियोमा तारिफयोग्य छ।
राकेश महर्जनको टिमले भिडियो छायांकन गरेको हो।भने सुप्रीम पराजुली भिडियोका सम्पादक हुन् । गीतलाई रिलिज भएको छोटो समयमै युटुबमा दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ। हेर्नुस् भिडियो..