
काठमाडौं : प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका गायक हुन् योगेन्द्र गौतम। अन्य भन्दा लोकदोहोरी गीत गाउन एकदमै झुकाब राख्ने योगेन्द्रका गीत प्रायः मेलोडियस हुनेगर्छन।
संख्यात्मक भन्दा पनि गुणात्मक गीतहरू गाउन रुचाउने उनका थोरै गीतहरु बजारमा आएतापनि दर्शक स्रोता सामु निकै लोकप्रिय बनेका छन् । यसैबीच, योगेन्द्रको नयाँ गीत बजारमा रिलिज भएको छ। शुक्रबार रिलिज “आउँछौ र फेरि” बोलको गीतमा योगेन्द्रसंगै लोकप्रिय गायिका देवी घर्तीमगरको सुमधुर आवाज रहेको छ।
गीतमा सर्जक सुरज गैह्रे ‘विवस’को शब्द रहेको छ।भने, पछिल्लो समय युवापुस्ताका लोकप्रिय गायक तथा सर्जक अर्जुन सापकोटाको संगीत गीतमा सुन्न सकिन्छ। एक प्रेम जोडीको कथालाई सुरजले सरल शब्दहरु मार्फत गीतमा उतारेका छन् । सुरज पनि संख्यात्मक भन्दा गुणात्मक सृजनामा ध्यान दिने सर्जकमा पर्छन् । गीतको लय सरल अनि जस्ले पनि सजिलै गुनगुनाउन सक्ने बनाएका छन् अर्जुनले। गीतमा देवीका अलवा अर्जुनको गायिकी मीठो सुनिएको छ।
गीतको अडियो पक्ष जति सशक्त अनि उत्कृष्ट छ, भिडियो पनि त्यतिनै आकर्षक एवम् उत्कृष्ट बनाइएको छ। भिडियो निर्माणमा योगेन्द्रले आर्थिक पाटोबाट कमी नराखेको स्पष्ट हुनेगर्छ । भिडियोमा लोकप्रिय मोडल गीता ढुंगाना र अर्जुन सापकोटा स्वयं फिचर्ड छन् ।
गीता र अर्जुनको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। गीतको भाव अनुसार भिडियो कलात्मक शैलीमा निर्माण गरिएको छ। भिडियोमा गीता र अर्जुनलाई जोडीको रुपमा देख्न सकिन्छ। काजिश श्रेष्ठले भिडियोको परिकल्पना एवम् निर्देशन गरेका हुन् ।
आकर्षक फ्रेम अनि लोकेशनमा खिचिएको भिडियोका सिनेम्याटोग्राफर राजेश घिमिरे हुन् । भिडियोलाई सम्पादन अनि कलरिङ गर्ने काम दिपक विष्टले गरेका छन् । भिडियो आयंश क्रियसनको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। यसभन्दा अघि लोकप्रिय बनेको “खोलीमा पानी” बोलको गीत बजारमा ल्याइसकेका योगेन्द्रको आउछ्यौ र फ़ेरिलाई दर्शक स्रोताले कत्तिको रुचाउने हुन् त्यो त केही दिन कुर्नुपर्ने नै हुन्छ। हेर्नुस् भिडियो..