काठमाडौं : लोकप्रिय नायक पुष्प खड्काको प्रमुख भुमिका रहेको नयाँ चलचित्र ‘कृष्णा लिला’को छायांकन कार्य सकिएको छ। सोमबार पुष्पले आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस लेख्दै चलचित्रको छायांकन सकिएको जानकारी गराएका हुन् ।
पुर्व नेपाल इलाम, झापा पाँचथर लगायतका विभिन्न स्थानहरूमा छायांकन गरिएको चलचित्रलाई ४० दिनको समयावधिमा खिचिसकिएको निर्माण टिमले जनाएको छ। चलचित्रलाई दिपक वलीले निर्देशन गरेका छन् । लक्ष्मण सुवेदीले चलचित्रको कथा लेखेका हुन् । पुष्पसंगै चलचित्रमा नायिका श्रद्धा क्षेत्रीको पनि प्रमुख अभिनय रहेको छ।
कमेडी जनरामा निर्माण भएको सो चलचित्रमा पुष्प र श्रदासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।
शिव ढकालले खिचेको सो चलचित्रमा आफ्नो फरक भुमिका दर्शकले देख्न पाउने पुष्पले बताएका छन् । चलचित्रलाई लिएर पुष्प एकदमै उत्साहित रहेका छन् । उसो त निर्माण टिमले पनि उत्कृष्ट चलचित्र बनाउन आफ्नो तर्फबाट सतप्रतिशत मिहेनत गरेको जनाएको छ। अन्जु पन्त र सुगम पोख्रेलको आवाज रहने चलचित्रलाई दर्शकले कत्तिको रुचाउने हुन् त्यो त प्रदर्शन मिति कुर्नुपर्ने नै हुन्छ।