भर्सटायल अभिनेत्री आलिया भट्टलाई ‘गंगूबाई काठियावाडी’ को चरित्रमा हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका छन् । उनी आफैं पनि निर्देशक सञ्जय लीला भन्सालीसँग पहिलो पटक काम गर्नका लागि उत्साहित छिन् ।
फिल्म ‘गंगूबाई काठियावाडी’ चर्चित उपन्यासकार हुसेन जैदीको किताब ‘माफिया क्विन अफ मुम्बई’ को एक च्याप्टरमा आधारित भएर निर्माण हुन लागेको हो । फिल्मको फर्स्टलुक पोस्टर समेत सार्वजनिक भइसकेको छ, जसमा आलियालाई भिन्न लुक्समा देख्न सकिन्छ । यसबीच, फिल्मसँग जोडिएको एक खबर बाहिर आएको छ ।
बलिउड हंगामाका अनुसार, फिल्ममा अभिनेता रणवीर सिंह पनि देखिँदैछन् । फिल्ममा उनले केमियो रोल निभाउनेछन्, जुन फिल्मको टर्निङ पोइन्ट हुनेछ । फिल्ममा उनको पावरफूल केमियो रहने बताइएको छ । फिल्मसँग सम्बन्धित एक व्यक्तिले भनेका छन्, ‘रणवीर सिंहले निर्वाह गर्न लागेको भूमिका छोटो भए पनि सशक्त छ ।
यसकारण पनि उनले फिल्म अस्वीकार गर्न नसकेका हुन् ।’ यद्यपि, फिल्ममा रणवीरको प्रवेशको विषयमा निर्देशक सञ्जय लीला भन्सालीले कुनै औपचारिक जानकारी दिएका छैनन् । आलिया र रणवीर सिंहले यसअघि फिल्म ‘गल्ली ब्वाई’ मा काम गरेका थिए । सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूवाईको जीवनीमा फिल्म निर्माण हुनेछ ।
फिल्मले कसरी एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने बारेमा आफूलाई पेश गर्नेछ । पहिलो पटक आलिया भट्टले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्न लागेकी हुन् ।