काठमाडौं : नेपाली चलचित्र क्षेत्रका नायकहरु मध्ये दर्शकको पहिलो रोजाइमा पर्ने नायक हुन् प्रदीप खड्का। थोरै चलचित्र खेलेका तर अत्याधिक लोकप्रियता कमाएका प्रदीप पछिल्लो समय चलचित्र नगरिमा डिमान्डेड नायकको रुपमा चिनिन्छन।
उसो त चलचित्र निर्माताको रोजाइमा पनि प्रदीप पहिलो नजरमा पर्ने गर्छन् । पछिल्लो समय उनको प्रमुख अभिनय रहेको चलचित्र “प्रेम गीत ३” कोरोना भाइरस र त्यसपछि भएको लकडाउनका कारण रिलिज हुन सकेन। जुन चलचित्र आगामी चैत्रमा रिलिज हुने कुरा बाहिरिएको छ।
कोरोना भाइरसका कारण करीब ९ महिना चलचित्र क्षेत्र ठप्प रह्यो। लकडाउनमा चलचित्र निर्माण नभएपनि म्युजिक भिडियो भने धमाधम निर्माण भए। चलचित्रमा अभिनय गर्ने धेरै कलाकारहरु आर्थिक सहायताको लागि म्युजिक भिडियोमा अभिनय गरे। यस्तै, म्युजिक भिडियोमा अत्याधिक व्यस्त हुने नायकमा पल शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ , पुष्प खड्का पनि परे।
उसो त प्रदीपले पनि २ ओटा म्युजिक भिडियो खेल्न भ्याए। म्युजिक भिडियोमा प्रदीपलाई हेर्ने दर्शकको चाहाना केही हदसम्म पूरा पनि भयो। तर प्रदीपले २ ओटा भन्दा बढी भिडियो खेलेनन। बरु कमर्सियल बिज्ञापन खेले। अन्य म्युजिक भिडियो नखेलेपछि उनलाई किन नखेलेको भन्ने प्रश्न तेर्सियो। आफ्नो स्टार्डम डाउन हुन्छ भनेर नखेलका होइनन् भन्ने हल्ला बजारमा फैलियो पनि। यो हल्ला सत्य नभएको र आफुले कमर्सियल म्युजिक भिडियो नखेल्ने उनले बताए।
उनी भन्छन् ,”म्युजिक फिल्डमा धेरैजना चिनेको हुनुहुन्छ । प्राय चिनेकै व्यक्तिले अफर गर्नुहुन्छ । कसको नाइ भन्ने, कसको हुन्छ भन्ने दुबिधा हुने गर्छ। त्यसैले कमर्सियल म्युजिक भिडियो नखेल्ने निधो गरेको छु। धेरैले स्टार्डम कमजोर हुने डरका कारण मैले म्युजिक भिडियो नखेलेको गुनासो गर्नुहुन्छ । तर त्यसो होइन, म्युजिक भिडियो खेल्दैमा स्टार्डम कमजोर हुन्छ जस्तो लाग्दैन । बरु गलत काम गरेपछि चाहिँ स्टार्डम कमजोर हुन्छ।”
हाल लकडाउन बिस्तारै हट्दै गएपछि चलचित्र निर्माण हुनेक्रम बढिरहेको छ। धेरै चलचित्रहरु फ्लोरमा समेत गइसकेका छन् । प्रदीप पनि आफुले साइन गरेका चलचित्रमा व्यस्त हुने बताउँछन् ।