
काठमाडौं : करिब ४ महिना अघि रिलिज भइ लोकप्रिय बनेको गीत ‘चिरा पर्या छ’को फिमेल भर्सन रिलिज भएको छ। बादल थापाको आवाजमा रहेको मेल भर्सनको चौतर्फी लोकप्रियता पछि निर्माण टिमले गायिका अस्मिता अधिकारीको आवाजमा फिमेल भर्सन रिलिज गरेको छ।
बुधबार आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज भएको फिमेल भर्सनमा गायक बादल थापाकै शब्द तथा संगीत रहेको छ। उसो त मेल भर्सनमा पनि बादलकै शब्द अनि संगीत रहेक्ल थियो। मेल भर्सनलाई दर्शक स्रोताले अत्याधिक रुचाइरहँदा निर्माण टिमले फिमेल भर्सन बनाउने जानकारी दिएको थियो। फिमेल भर्सनलाई लिएर पनि दर्शक स्रोता एकदमै बहुप्रतिक्षित थिए।
अन्ततः दर्शक स्रोताको प्रतीक्षा सकिएको छ। मेल भर्सन जस्तै फिमेल भर्सनमा पनि गीतको मिठास उत्तिकै छ। गायिका अस्मिता अधिकारीको आवाजले गीतलाई न्याय दिएको छ। मेलोडियस अनि ट्र्याजिडी शैलीको उक्त गीत एकदमै सशक्त छ। सुन्ने जोकोहीको मन फिमेल भर्सनले सजिलै जित्ने गर्छ।
गीतको अडियोसंगै भिडियो पनि सशक्त बनेको छ। निकै मिहेनत गरेर निर्माण टिमले भिडियो निर्माण गरेको छ। गलत बुधाईका कारण प्रेमिल सम्बन्ध कारुणिक अवस्थामा पुगेको प्रेमकथालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ। बिन्दास मिडिया नेटवर्कको व्यानरमा निर्माण भएको भिडियोमा कलाकार रोश्नी कार्की, चिरञ्जीवी सापकोटा (जिबी चिरन) , समिक्षा पोखरेल, प्रेम पुरी, मनिषा आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।
दुर्गेश थापा पनि अतिथि भुमिकामा भिडियोमा प्रस्तुत छन् । चिरञ्जीवी र रोश्नीले मेल भर्सन जत्तिकै जीवन्त अभिनय यस् फिमेल भर्सनमा पनि गरेका छन् । रोश्नी र चिरञ्जीवीको अभिनयले प्रेम वियोगको पीडामा रहेका जोकोही मन भावुक गराउने गर्छ। मेल भर्सनको कथालाई नै यस् फिमेल भर्सनमा निरन्तरता दिइएको छ।
भिडियोका निर्देशक सृजन बराल हुन् । भिडियोमा उनको निर्देशकिय पाटो पनि तारिफयोग्य छ। दीपक गिरीको क्यामरा, राजेश घिमिरेको डिओपी र दिन्सन शाहको सम्पादन एवम् रंग संयोजन भिडियोमा रहेको छ। मेल भर्सनलाई जत्तिकै फिमेल भर्सनलाई पनि दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ। हेर्नुस् भिडियो..