
काठमाडौं : कोभिड १९ अनि त्यसपछि भएको लकडाउनका कारण बन्द रहेका फिल्म हल आगामी पौष १० गतेबाट खुल्ने भएका छन् ।
सबै क्षेत्र खुलिसके पनि ९ महिनादेखि बन्द रहेका हलहरु नखुल्दा भने अब हलवालाहरु आफैले हल खोल्ने भएका हुन् । चलचित्र संघले सोमबार एक पत्रकार सम्मेलन गर्दै पुष १० गतेबाट हल खोल्ने निर्णय गरेको हो। हल खोलेर पुराना फिल्महरु रिलिज गर्ने उनिहरुको योजना छ।
पत्रकार सम्मेलनमै सार्वजनिक गरिएको विज्ञप्तिमा -‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो। वर्तमान समयमा सबै क्षेत्र पूर्णरुपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डको मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष पेश गरेका थियौं । तर सरकारले तर सरकारले आजसम्म पनि चलचित्र घर सञ्चालन गर्न विषयमा चासो नदिएकाले बाध्य भएको हल खोल्न लागिएको हो।’ भनिएको छ।
चलचित्र संघले फिल्म हल खोल्ने निर्णय गरेपनी तुरुन्तै आफ्नो फिल्म रिलिज गर्न निर्माताहरु भने तयार छैनन्। तर, पूरा सावधानीका साथ ५०% अकुपेन्सीमा हल खोलिने भनिएको छ। फिल्म रिलिजका लागि भने मंगलवारबाट वितरकसँग छलफल गरिने बताइएको छ।