नेपालगन्ज : लोकप्रिय गीत “चिरा पर्या छ” को चौतर्फी सफलतापछि फिमेल भर्सन पनि बन्ने भएको छ। बिन्दास मिडिया नेटवर्कको ब्यानरमा बनेको मेल भर्सनलाई दर्शक स्रोताले अत्याधिक रुचाएपछि निर्माण टिमले फिमेल भर्सन बजारमा ल्याउने तयारी गरेको हो।
फिमेल भर्सनमा भने लोकप्रिय गायिका अस्मिता अधिकारीको आवाज रहने बताइएको छ। आज बिन्दास मिडियाका संचालक तथा कलाकार चिरञ्जीवी सापकोटा (जिबी चिरन)ले आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै फिमेल भर्सनमा गायिका अस्मिता अधिकारीको स्वर रहने जानकारी दिएका हुन् ।
यससँगै, फिमेल भर्सन कस्तो बनेर आउला भन्ने कौतुहलता यतिबेला सबैमा छाएको छ। मेल भर्सनलाई युटुबमा ५० लाख बढी पटक हेरिएपछि उत्साहित हुँदै निर्माण टिम फिमेल भर्जनको तयारीमा हौसिएको हो। मेल भर्सनमा गायक बादल थापाको शब्द,संगीत अनि आवाज रहेको थियो।
फिमेल भर्सनको भिडियोमा भने मेल भर्सनकै कलाकारहरु समाबेश हुने बताइएको छ। जस अन्तर्गत कलाकार चिरञ्जीवी सापकोटा, रोश्नी कार्की, प्रेम पुरी लगायतका कलाकार भिडियोमा फिचर्ड हुनेछन् । भिडियोलाई सृजन बरालले निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन अनि दिन्सन शाहले सम्पादन गर्नेछन् ।
चाँडै नै रिलिज गर्ने मनसायले निर्माण टिम यतिबेला अडियो भिडियोको निर्माणमा जुटेको छ। फिमेल भर्सनलाई मेल भर्सन झै दर्शक स्रोताले कत्तिको रुचाउने हुन् त्यो त रिलिज मिति कुर्नुपर्ने नै हुन्छ।