लकडाउन खुल्नासाथ कलाकारहरुलाई भ्याई नभ्याई छ। यस्तै भ्याई नभ्याई हुने कलाकारमा पर्छन् अभिनेता पुष्प खड्का। लकडाउन खुल्नासाथ पुष्पले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसके भने ‘कृष्ण लीला’ नामक एक फिल्ममा साइन पनि गरे। उक्त फिल्म दशैं लगत्तै फ्लोरमा जाने निर्माण टिमले बताएको छ।
पुष्प अभिनित फिल्म ‘चालबाज’को एक गीत बाहेक सबै छायांकन सकिएको छ। तर ‘चालबाज’ रिलिज हुन अझै समय लाग्ने देखिएको छ। ‘चालबाज’ रिलिज नहुदै पुष्पले लगातार फिल्म साईन गरिरहेका छन्। लकडाउनमा दर्जनौ फिल्मबाट अफर आएको र स्क्रिप्ट पढेका पुष्पले ‘कृष्ण लीला’ पछि बल्ल अर्को फिल्मको स्क्रिप्ट मन पराएका छन्।
‘लप्पन छप्पन’का निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा पुष्प अनुबन्ध भएका छन्। एक्सन जनरामा निर्माण हुने फिल्ममा पुष्प फिट हुने भएकाले उनलाई अफर गरिएको र पुष्पले पनि फिल्मको स्क्रिप्ट मन पराएकाले सहकार्य भएको जानकारी छ। फिल्मको छायांकन आउँदो चैतबाट सुरु गरिने बताइएको छ।
फिल्म ‘मारुनी’मा पुष्पले एक सिनमा एक्सन गरेका थिए। उक्त एक्सनलाई दर्शकले रुचाएका पनि थिए। तर, पुरा एक्सन फिल्म भने पुष्पले पहिलो पटक गर्न लागेका हुन्। निर्देशक भट्ट र टिम योगीले फिल्मको स्क्रिप्ट तयार पारेका छन्।