नेपालगन्ज : दशैं तिहारलाई लक्षित गरेर पछिल्लो समय धेरै म्युजिक भिडियोहरु रिलिज भइरहेका छन् । कतिपय म्युजिक भिडियोहरुमा रमाइलोपन देख्न सकिन्छ भने, कतिपयमा कारुणिक दृश्य।
यस्तै, पछिल्लो समय म्युजिक भिडियोमा एकदम रुचाइएका कलाकार चिरञ्जीवी सापकोटा (जिबी चिरन) अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। शनिबार रिलिज भएको ‘आमा’ बोलको गीत दशैंलाई लक्षित गरेर रिलिज गरिएको हो।
गीतमा बलराम विश्वकर्मा र सुनिता बुढाक्षेत्रीको सुमधुर आवाज रहेको छ। बलराम विश्वकर्माकै गीतमा लय शब्द रहेको छ। गीतका प्रत्येक शब्दहरू मर्मस्पर्शी छन् ।
गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। गरिबीका कारण परदेशिएको परदेशी, जो झुट्टो ज्यानमारा मुद्दामा फसेको र अन्ततः घर फर्किन नपाउँदै फासीको सजाय भोगेको दर्दनाक कथालाई भिडियोमा देखाइएको छ। भिडियोमा चिरञ्जीवीले सोही फासीको सजाय भोग्ने परदेशीको भुमिका निभाएका छन् ।
भिडियो हेर्दा उनको कारुणिक अनि जीवन्त अभिनयले जोकोहीलाई भावुक बनाउँछ । यस भन्दा अघिल्ला भिडियोहरुमा भन्दा यस् भिडियोमा चिरञ्जीवीको निखारिएको अभिनय देख्न सकिन्छ । चिरञ्जीवीका अलवा रश्मि भट्ट,समिक्षा पोखरेल र नेरिस्का स्थापितको पनि जीवन्त अभिनय भिडियोमा रहेको छ।
निर्देशक सृजन बरालले भिडियो निर्देशन गरेका हुन् । गीतको भावकै वरिपरि रहेर सृजनले भिडियोमा स्क्रिन प्ले गराएका छन् । भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।भने, अमृत चापागाईंले सम्पादन गरेका हुन् । गीतको भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो…