
अपवाद बाहेक मनोरञ्जन क्षेत्रमा आबद्ध प्रायःको ठूलो पर्दामा अभिनय गर्ने चाहना हुन्छ । त्यसैले त सांगीतिक दुनियाँमा चम्किएका अनुहारहरुको फिल्ममा प्रवेश बढ्दो छ ।
यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राईलगायत गायकसँगै फिल्मको हिरो पनि भइसकेका छन् । तर, कसैलाई फिल्म अभिनय फापेन । गायक नायकको रुपमा सफल भएका कमै उदाहरण छन् ।
गायन पेशाबाट ठूलो पर्दाको हिरो हुने भीडमा प्रकाश सपुत, नितेशजंग कुँवर र प्रेम परियार पनि थपिँदैछन् । फिल्ममा असफल गायकहरुको लाममा उनीहरु अपवाद बन्न सक्लान् त ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । यसबीच, फेरि एक गायक नेपाली फिल्मको हिरो हुने भएका छन् । उनी हुन्, हिमाल सागर ।
उनी स्वयंले आफू फिल्मको हिरो हुन लागेको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले दर्शक/स्रोताको चाहनालाई मध्यनजर गर्दै फिल्ममा अभिनय गर्न लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘धेरै दर्शक/श्रोताहरुको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्ने गरी फिल्म खेल्ने पक्का ।’ उनले फिल्मको अन्य जानकारी भने दिएका छैनन् ।
रोचक कुरा के छ भने उनले ४ वर्ष अगाडि एक अन्तर्वार्तामा ‘हिरो बन्ने रहर छैन ?’ भन्ने प्रश्नमा धेरै गायकहरु हिरो बन्न खोज्दा यता न उताको भएको देखेका कारण आफूलाई हिरो हुने रहर नभएको बताएका थिए । अब, उनी आफैं गायकबाट हिरो बन्न लागेका छन् । नायकको रुपमा असफल अन्य गायकहरु झैँ हिमाल सागरको करिअर पनि यता न उताको चाहिँ नहोस्, शुभकामना ।