देश कोरोना भाइरसको महामारीले थिलथिलो बनेको छ । संक्रमणबाट बच्न सरकारले पहिलो चरणमा पाँच महिना लामो लकडाउन गर्यो । संक्रमितको संख्या नियन्त्रणभन्दा बाहिर जान थालेपछि अहिले राजधानीसहित विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । जसले गर्दा धनाड्यदेखि श्रमिकसम्म घरमा थुनिएका छन् । यसले देशमा ठूलो संख्यामा बेरोजगारी जन्माएको छ ।
एकातिर देश कोरोनाले अस्तव्यस्त बनेको छ भने अर्कोतिर तराईमा बाढी र पहाडी तथा उच्च पहाडी जिल्लामा पहिरोका घटना बढेका छन् । लकडाउन भएपछि विहान बेलुका हातमुख जोर्न समस्या भएका चलचित्र प्राविधिकलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाह निषेधाज्ञामा बाढी पहिरो पीडितलाई राहत वितरण गर्न अगाडि सरेका छन् ।
केही हप्ताअघि कालिकोटका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण गरेका पल बाग्लुङका बाढी पहिरो पीडितलाई सहयोग गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । मंगलवार आफ्नो आधिकारिक फेसबुक पेजमा चामलको बोरा बोकेको र आँबु खैरेनीको झरनाको आडमा खाना खाइरहेको तस्विर शेयर गर्दै उनले सिरक-डसना, नुन-तेल, चामल लिएर बाग्लुङतर्फ लागेको जानकारी दिएका छन् ।
पललाई राहत वितरणमा सघाउन अहिलेका चल्तीका मोडल तथा गायक दुर्गेश थापा पनि बाग्लुङ लागेका छन् । पलले दुर्गेशको आवाजमा रहेको ‘आलु जस्तो गायक’ बोलको गीतको भिडियोमा अभिनय गरेका थिए । यसपछि उनीहरुबीच राम्रो मित्रता कायम भएको छ । बुधवार बाग्लुङका बाढी पहिरो पीडितलाई उनीहरुले खाद्यन्न र लत्ता-कपडा वितरण गर्ने जानकारी प्राप्त छ ।