
काठमाडौं : लामा सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। शुक्रबार निर्माण टिमले फर्स्टलुकसँगै थिम पोस्टर पनि रिलिज गरेको हो।
फर्स्टलुक पोस्टरमा फिल्मका सबै कलाकारहरुलाई देख्न सकिन्छ। एउटा आँखा भित्र कलात्मक तरिकाले कलाकारहरुलाई प्रस्तुत गरिएको छ। सबै कलाकारहरुको अवस्था फरकफरक छ। झट्ट हेर्दा सबै वर्गका भूमिका निर्वाह गरेका कलाकारहरुको एउटै दृष्टिकोण फर्स्टलुक पोस्टरले झल्काएको आभाष हुन्छ।

उसो त, थिम पोस्टर पनि उत्तिकै कलात्मक छ। फोहोरको थुप्रोमा सुन्दर तरिकाले फूलेको सूर्यमुखी फूललाई थिम पोस्टरमा झल्काइएको छ। फूलको छेवैमा चरा पनि छ। यो पोस्टरले फिल्मको भिन्न कथालाई झल्काएको छ।
आधुनिकता तर्फ अघि बढिरहेको नेपाली समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण नै ‘आँखा’ रहेको फिल्मकी निर्माता स्मिता लामिछानेले बताएकी छिन्।

पोस्टर आउट भएपछि स्मिताले फेसबुकमा लेखेकी छिन्, ‘नयाँ बर्ष, नयाँ सूरुवातसँगै नयाँ पहिचानको बाटोमा छु | मैले निर्माण गरेको पहिलो चलचित्र । म सहित हाम्रो टिमले रोपेको एउटा कोपिलालाई आज हाँगाको आकार दिँदै छौं । ‘आँखा’ अब मेरो, हाम्रो मात्र रहेन अब हजुरहरूको हुन पुगिसकेको छ । आधुनिकता तर्फ अघि बढिरहेको नेपाली समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण हो ‘आँखा’।’
जौन योन्जनको लेखन र निर्देशनमा निर्माण भएको ‘आँखा’ आगामी असार १४ गतेदेखि प्रदर्शनमा आउनेछ। लामा सिनेमाको प्रस्तुति रहेको फिल्मको पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।
स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतका कलाकारहरुको फिल्ममा मुख्य अभिनय रहेको छ।
फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्। ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई कृष्ण भण्डारी र जौन योन्जनले सम्पादन गरेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।