काठमाडौं : पूर्व रानी कोमल शाहले चलचित्र ‘महाजात्रा’ हेरेकी छिन्। शुक्रबारबाट रानी शाहले काठमाडौं स्थित क्युएफएक्स सिभिलमा बेलुकी ६:१५ बजेको शो हेरेकी हुन्। हिमानी कोषले आयोजना गरेको विशेष शो हेर्न रानी लगायत सयौं राजपरिवार हल पुगेको थियो।
चलचित्र हेरेपछि रानी लगायतको टिमले ‘महाजात्रा’का कलाकारहरुसँग भेटघाट समेत गरेको थियो। चलचित्र निकै मन परेको रानीको प्रतिक्रिया रहेको थियो। उनले भनिन् ‘राम्रो बनेको रहेछ। एकदम मनपर्यो।’
अभावमा रहेका नेपालीहरुको लागि आवश्यक मेडिकल सामाग्री उपलब्ध गराउने उद्देश्यले हिमानी कोषले ‘महाजात्रा’को विशेष शो आयोजना गरेको थियो।
‘महाजात्रा’को टिम पनि रानी लगायतका दर्शकको प्रतिक्रिया बुझ्न सिभिल हल पुगेको थियो। राजपरिवारको प्रतिक्रियाले चलचित्र टिमलाई निकै खुशी बनाएको छ। चलचित्रका निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, रवीन्द्र झा, अरबिन खड्का, पब्लिसिटी डिजाइनर रोयल भिमसेन लगायतको टिम हल भिजिटमा शुक्रबार दिनभर निस्किएको थियो। प्रदर्शनको पहिलो दिनमा नै उत्कृष्ट प्रतिक्रियासहित देश तथा विदेशमा ‘महाजात्रा’ले हाउसफुल व्यापार गरिरहेको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।
फिल्मीपत्र
प्रतिक्रिया