
पोखरा : यतिबेला चलचित्र ‘महाजात्रा’ टिम पोखरामा छ। सोमबार विहान पोखरा पुगेको टिमले पत्रकारसँग साक्षात्कार गरेपछि एक कलेजमा पनि टिम पुग्यो। टेक्निकल सम्बन्धि पढाई हुने ‘इन्फर्मेटिक कलेज’मा ‘महाजात्रा’ टिम सोमबार दिउँसो पुगेको हो।
जब चलचित्रको टिम कलेजको कक्षामा पुग्यो तब विद्यार्थीहरु निकै उत्साहित भएका थिए। चलचित्रको पर्दामा देखिएका कलाकारहरुलाई आँखा अगाडि देख्दा विद्यार्थीहरु खुशी पनि भएका थिए। विद्यार्थीहरुसँगै बेन्चमा चलचित्र टिम बस्दा रौनक बेग्लै थियो। विद्यार्थीहरुसँगै बेन्चमा बस्दा चलचित्रका मेम्बरहरुले आफ्नो कलेज जीवनको स्मरण भएको बताएका थिए।

प्रोजेक्टर मार्फत विद्यार्थीहरुसँगै बसेर चलचित्रको ट्रेलर पनि हेरिएको थियो। ट्रेलर हेरेर विद्यार्थीहरु हासेका पनि थिए। ट्रेलर हेरे पश्चात् ‘महाजात्रा’का निर्देशक तथा लेखक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल र प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारीले चलचित्रको बारेमा जानकारी दिएका थिए।



