
काठमाडौं : करिब ३ हप्ता अघि लोकप्रिय गायिका शन्तिश्री परियारको आवाजमा रहेको एउटा गीत रिलिज भयो। उक्त गीत हो ‘छैन मलाई सुख’। यो गीत तीजको गीत भनेर रिलिज गरिएको हो।
रिलिज भएको दिनदेखि नै यो गीतको चर्चा ह्वात्तै बढ्यो। त्यसो त रिलिजपूर्व नै गीतले एक खालको चर्चा पाउन सुरु गरिसकेको थियो। जब रिलिज भयो त्यसपछि झन् चर्चा चुलिन थाल्यो। टिकटकमा त यही गीतमा भिडियो बनाउनेहरुको जमात बाक्लो थियो भन्दा फरक नपर्ला।
“आमाले भाग्य लेख्न मिल्ने भाको भा
लेख्थिन् होला सुख, पाउँथिन कि दु:ख”
यि शब्दहरु उक्त तीज गीतका शब्दहरु हुन्। गीत रिलिज हुने बित्तिकै टिकटकमा अत्याधिक चेलीहरुलाई धेरै छुने गीतको लाइन यही हो। यस्ता हृदय छुने शब्द चाहिँ गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’ले सृजना गरेका हुन्। गीतमा प्रेमकै मनछुने संगीत रहेको छ। प्रेमले सृजना गरेको शब्द अनि संगीतमा शान्तीश्रीले आफ्नो गायिकीको प्राण भरेकी छिन्। अझ भनौं गीतका शब्दहरुको भाबमा डुबेर स्वर भरेकी छिन्। जुन कुराको महशुस गीत सुन्दा हुने गर्छ।
गीतले छोटो समयमै धेरैको मन जित्यो। अझ बढी त नेपाली चेलीहरुलाई बढी छोयो। माथि उल्लेख गरिएको गीतको लाइनमा मात्रै यो समाचार तयार पार्दासम्मको समयमा २ लाख बढी टिकटक प्रयोगकर्ताले भिडियो बनाइसकेका छन्।भिडियो बनाउनेमा सबै नेपाली चेलीहरु रहेका छन्।
जसरी ति चेलीहरुले उक्त लाइन समाबेश साउन्डमा टिकटक बनाउँछन् त्यसरी नै मनछुने क्याप्सन समेत लेखेर पोस्ट गर्ने गरेका छन्। जसले चेलीहरुको मन निकै छोएको अनुमान लगाउन सकिन्छ।
वास्तवमा हो वर्ष तीजको नाममा बजारमा रिलिज भएका गीतहरू मध्ये साँच्चिकै तीज गीत भन्न लायक चाहिँ ‘छैन मलाई सुख’ पनि एक हो। जुन गीतले नारीको वेदना समेटेको छ। धन, सम्पत्तिको लोभमा छोरीलाई विवाह गरेर पठाइदिँदा धनको सुख त पाइएको तर मनको सुख नपाइएको एक चेलीको पीडालाई प्रेमले गीतमा उतारेका छन्।
पहिले जस्तो तीजमा माइती जान नपाएर तड्पिने नारीहरु हिजोआज कमै छन्। हिजोआज त मानसिक पिडाले ग्रसित चेलीहरुले आफ्नो जन्मदिने आमा बुवालाई पोख्ने गरेका थुप्रै उदाहरण छन्। उसो त चेलीहरुले आफ्नो पीडा सुनाउन तीज नै कुर्नुपर्छ भन्ने छैन तथापि तीजमा आफ्नो पीडा व्यक्त गर्दा चेलीहरुले छुट्टै खालको हलुका महशुस चाहिँ गर्छन्।
सुन्दा गीतले जति मन छुन्छ, भिडियो हेर्दा झन् मन चसक्क हुन्छ। गीतको भावलाई कहिँकतै मर्न नदिएर भिडियो निर्माण गरिएको छ। भिडियोमा कलाकार स्मारिका ढकाल फिचर्ड छिन्। स्मारिका अलावा शिशिर पौडेल, घनश्याम ढकाल र छबिका ढकाल लगायतका कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ।
भिडियोमा स्मारिकाको कुरा गर्नुपर्दा उनले जीवन्त अभिनय गरेकी छिन्। उनको अभिनयमा खोट लगाउने कुनै ठाउँ नै भेटिँदैन। बुझिए अनुसार स्मारिका साँच्चिकै भक्कानिएर रोएकी थिइन् रे। गीत आफ्नो जीवनमा मिल्दोजुल्दो भएकोले पनि उनी सुटिङ सेटमा भावुक भएको विशेष स्रोतले बतायो।
उसो त, आमा बुवाको रोलमा स्मारिकाकै वास्तविक आमा बुवा देखिएका छन्। गीतमा व्यक्त गरिएका पीडा आफ्नो जीवनमा मिल्नु अनि आफ्नै जन्मदिने बुवा आमाको अगाडि उक्त पीडा पोख्नु सायद त्यही भएर पनि होला स्मारिका रोएको। जसले गर्दा गीतको वास्तविक भावमा डुब्न स्मारिकालाई टेवा पुग्यो।
स्मारिकाले निर्वाह गरेको अभिनयले वास्तवमै धेरै चेलीहरुले भोगेको वास्तविक अनि दर्दनाक कहानी प्रतिनिधित्व गरेको छ भिडियोमा। त्यसैले पनि गीतको चर्चा धेरै छ यतिबेला। समग्रमा करिब ५ लाख बढी टिकटक भिडियो उक्त गीतका विभिन्न अंशमा बनिसकेका छन्।
त्यस्तै, युट्युबमा भ्युजको कुरा गर्ने हो भने रिलिज भएको ३ हप्ताको अवधिमा १५ लाख बढी छ। गीत प्रेमले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतका निर्माता पनि स्वयं प्रेम नै हुन्। गीतले करिब ७ सय बढी सकारात्मक कमेन्ट र २२ हजार लाइक पनि युट्युबमा पाएको छ। गीतको अडियो भिडियो दुबैको तारिफ कमेन्टमा पढ्न सकिन्छ।
भिडियोमा शेखर घर्तीमगरको कथा अनि निर्देशन रहेको छ । आकर्षक फ्रेममा दुर्गा पौडेलले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन्।
जे होस्, प्रेमले यो पालि चाहिँ गीत सृजनामा निकै मिहेनत गरेका हुन्। गाउन भन्दा पनि सृजना गर्नमा झन् खप्पिस छन् उनी। उनका डायरी पल्टाउने हो भने नयाँ नयाँ गीतका शब्दहरूले भरिएका हुन्छन् डायरीका पानाहरु। यो गीत पनि डायरीमा कोरिएका गीतहरू मध्ये एक हो।
जति गाउन मन पराउँछन्, त्यति नै बढी गीत सृजना गर्नमा उनी रुचि राख्ने गर्छन्। आफूले गाउने गीतहरू प्रायः प्रेम आफैले लेख्छन् अनि मेलोडी भर्छन्। लेख्ने, मेलोडी बनाउने अनि गाउने प्रेमको मुख्य विशेषता हो। गीतले भ्युज भन्दा पनि सुन्ने अनि हेर्ने दर्शक स्रोताको माया पाओस् भन्ने मनसायले ‘छैन मलाई सुख’ बजारमा ल्याएको उनी बताउँछन्।
आफूले जहिले पनि व्यवसायिक हिसाबले भन्दा पनि गीत संगीतमा निरन्तरता अनि सन्तुष्टिको लागि नयाँ गीत बजारमा ल्याउने गरेको उनको भनाइ छ। यो गीतबाट पनि प्रेम निकै सन्तुष्ट छन्। निकै नै व्यस्त देश जापानमा रहेका प्रेमले पछिल्लो ५/७ वर्षयता देखि उतैबाट नयाँ गीत बजारमा ल्याउने गरेका छन्। जुन निकै सराहनीय कुरा हो।
गीतले लगानी न उठाए पनि वर्षमा आफ्नै सृजना रहेका २ वटासम्म गीतहरू बजारमा ल्याउने उनको योजना रहेको छ। भिडियो..