काठमाडौं : व्यापाक प्रचारप्रसारपछि गत बिहीबारदेखि फिल्म ‘ज्याकी: आईएम ट्वान्टी वान’ प्रदर्शनमा आएको छ। आक्रमक ओपनिङ नगरेपनि फिल्म हेर्न जाने दर्शकको संख्या विस्तारै बढ्दो छ। प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको फिल्मले रिलिजपछि पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
रेनाशा राई राना निर्देशिर फिल्म डान्सबाटै चिनिएका धराने केटा ज्याकी लिम्बू (धिरज मगर)बाट सुरु हुन्छ। ज्याकीको चाहना भने एउटा अब्बल डान्सर बन्ने हुन्छ। तर ज्याकीका बुवा चाहिँ छोरा डान्सर बनोस् चाहँदैनन्। छोराले डान्स गरेको हेर्न त के कुरा सुन्न पनि चाहँदैनन् उनी। ज्याकीका बुवा छोरालाई डान्सर होइन लाहुरे बनाउन चाहन्छन्।
एकातिर बुवाको सपना अनि अर्कोतिर आफ्नो। यही दोधारमै ज्याकीको कथा अगाडि बढ्छ। उता डान्समै करिअर बनाउने सोचले अगाडि बढीरहेकी रुबि (जसिता गुरुङ)को पनि परिवार बाधक बन्छ। ज्याकीसँगै रुबिको पनि कथा सँगै अगाडि बढ्छ। आफ्नो सपनामाथि परिवार बाधक बन्दाबन्दै पनि यि दुईले कसरी संघर्ष गर्छन् भन्ने नै फिल्मको मुख्य सारांश हो। उनीहरूको बाँकी संघर्ष हेर्न त हलमा पुग्नै पर्छ।
पछिल्लो समय नेपालमा कमेडी जनरामा बनेका फिल्महरु दर्शकले रुचाइरहेको समयमा छुट्टै, नितान्त फरक बिधा समाएर फिल्म बनाउने रेनशाको आँटलाई चाहिँ मान्नैपर्छ। किनकी विशुद्ध डान्स ड्रामामा आधारित यो नेपालकै पहिलो फिल्म हो। सदियौँदेखि बन्दै आएका नेपाली फिल्महरुको विधालाई बिर्सेर छुट्टै नयाँ विधा भित्र्याउनु चानचुने कुरा होइन। यो कुरामा भने निर्माण टिमको आँटलाई सकारात्मक रुपमा लिनैपर्छ।
तर यति भनिरहँदा फिल्म निकै उत्कृष्ट छ भन्न खोजेको पनि होइन। फिल्मका केही कमजोरीलाई बिर्सिने हो भने फिल्म राम्रो छ। लामो समय कोरियोग्राफीमा योगदान दिएकी रेनाशाले आफ्नो अनुभवलाई फिल्ममार्फत प्रस्तुत गर्ने कोशिस गरेकी छिन्। हिपहप डान्सलाई फिल्ममा निकै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
नेपालका विभिन्न चर्चित डान्स ग्रुपको उत्कृष्ट डान्सले फिल्म हेर्ने दर्शकलाई छुट्टै रौनक दिन्छ। पहिलो हाफसम्म दर्शकको ध्यान फिल्मले ठिकै तरिकाले तान्छ। तर दोस्रो हाफपछि भने अझ बढी ध्यान खिच्छ फिल्मले। यद्यपि केही दृश्यहरु भने यसपछि के होला भन्ने दर्शकले सहजै अनुमान गर्न सक्छन्। यो पाटोमा भने पटकथा कमजोर हो कि भन्ने महसुस हुन्छ। निर्माण टिमले पटकथामा अझै मिहेनत गरेको भए फिल्म झनै गजब बन्थ्यो।
फिल्ममा समाबेश डान्सहरु उत्कृष्ट छन्। तर अलि कम गरेको भए चाहिँ दर्शक बढी केन्द्रित हुन्थे। कमेडी जनराका फिल्महरु हेर्ने बानी परेका दर्शकलाई फिल्मको लाउड साउन्डले बेलाबेला झ्याउ लगाउँछ। तथापि फिल्मको ब्याकराउन्ड म्युजिक अनि उत्कृष्ट डान्समूभहरुले मनोरञ्जन भने भरपुर दिन्छन्।
त्यसो त, फिल्मले डान्सलाई मात्रै फोकस गरेको छैन। धेरै दर्शकमाझ यो फिल्ममा डान्स मात्रै हुन्छ भन्ने छाप बसेको छ। तर त्यसो होइन। फिल्मले एउटा सामाजिक कथालाई पनि सँगै अगाडि बढाएको छ। परिवारको दबाबमा छोराछोरीले चाहेको क्षेत्रमा राम्रो गर्न नसकिरहेको तितो यथार्थ पनि फिल्ममा प्रस्तुत गरिएको छ।
आफ्नो मात्रै नभएर छोराछोरीको रुचि पनि ख्याल गर्नुपर्छ। नत्र छोराछोरीले चाहेर पनि राम्रो भविस्य बनाउन नसक्ने कुराको गतिलो पाठ अभिभावकलाई फिल्मले दिएको छ। छोराछोरीको रुचिको विषयमा थोरै भएपनि परिवारले ढाडस दिन सक्यो भने राम्रो गर्न सक्छन् है भन्ने गहन विषय पनि फिल्ममा छ।
अब फिल्ममा अभिनयको कुरा गर्ने हो भने प्रायः सबै पात्रले अब्बल अभिनय गरेका छन्। फिल्ममा ज्याकी पात्रलाई धिरजले निकै अब्बल तरिकाले निर्वाह गरेका छन्। उनले अभिनयमा निकै मिहिनेत गरेको आभाष हुन्छ। त्यस्तै, रुबीको भुमिकालाई पनि जसिताले न्याय दिएकी छिन्। जसिता र धिरज दुबैले अभिनय होस् या डान्समा नै किन न होस् निकै मिहेनत गरेका छन्।
त्यस्तै, फिल्मको अर्को सुन्दर पक्ष भने संवाद हो। परिस्थिति अनुसारको संवाद समेटिएको छ फिल्ममा। धराने पात्रहरुले धरानमा बोलीने लवज सुन्दर तरिकाले बोल्छन्। त्यस्तै, रुबी नेवारी परिवारकी पात्र भएकोले बेलाबेला नेवारी बोल्छिन्। जसले फिल्मलाई थप मजबुत बनाएको छ।
फिल्ममा अर्का कलाकार अरुण क्षेत्रीको पनि भुमिका छोटो भएपनि काम भने गजबको गरेका छन्। ‘महापुरुष’मा नै दर्शकले उनलाई नोटिस गरेको भएर होला यो फिल्म हेर्दा उनीसँगै दर्शकहरु भिज्छन्। उनको अभिनय दालभातमा चटनीको स्वाद जस्तै थोरै तर स्वादिलो छ।
फिल्मको छायांकन पक्ष पनि उत्कृष्ट छ। आकर्षक फ्रेममा फिल्म खिचिएको छ। छायांकनमा निकै खर्च गरेको महसुस हुन्छ। त्यस्तै, फिल्म सम्पादन अनि कलर पनि अब्बल छ।
अर्को कुरा फिल्मको अन्त्य निकै फितलो थियो। तर दर्शकको माग अनुसार फिल्म युनिटले आइतबार नै फिल्मको क्लाइमेक्स सिन पुनः सम्पादन गर्दै रिलिज गरिसकेको छ। जुन निकै राम्रो कुरा हो। दर्शकको चाह फिल्म युनिटले बुझेर सोही अनुरुप बनाइनु निकै तारिफयोग्य कुरा हो।
थोरै कमजोरी भएपनि समग्रमा फिल्म चाहिँ अब्बल नै छ। किनकी यस्तो विधामा बनेका फिल्महरु नेपालमा आजसम्म छैनन्। त्यसैले यो फिल्मले आफ्नै अस्तित्व बोकेको छ। फरक कथालाई फरक शैलीमा बनाइएको फिल्म हो यो। एकपटक नयाँ स्वाद लिनको लागि दर्शकले यो फिल्म हलसम्म गएर हेर्नैपर्छ।
फिल्मको व्यवसायिक पाटोलाई ख्याल नै नगरि दर्शकलाई फरक कथा र फरक शैली देखाउने हुटहुटी भएकी निर्देशक रेनाशा बधाईको पात्र हुन्। किनकी रेनाशाले नेपालमा फिल्मको क्षेत्रमा नयाँ ट्रेन्ड सुरुवात गरेकी छिन्। निर्देशनमा उनको आगामी दिनमा निकै सम्भावना रहेको स्पष्टता ‘ज्याकी: आईएम ट्वान्टी वान’ले गराएको छ।